काठमाडौँ- रौतहटको गढीमाईमा गोली लागेर एक स्थानीयको मृत्यु भएको छ।
जग्गासम्बन्धी विवादले उग्ररुप लिएपछि गोली चलेको र गोली लागेर स्थानीय राजकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
‘स्थानीयबीचको विवादले उग्ररुप लिएको रहेछ। त्यत्तिकैमा गोली चलेछ,’ रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले सूत्रन्यूजसँग भने, ‘गोली कसले चलायो भन्ने खुलेको छैन। हामी अनुसन्धानकै क्रममा छौँ। गोली लागेर राजकुमार यादव घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।’
गोली लागेर रामप्रताव यादव, निरन्जनदेव यादव र कपिलदेव यादव घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ। घटनास्थलमा अहिले मृतकका आफन्तहरूले प्रदर्शन गरिरहेका छन्।