काठमाडौँ- सभामुख देवराज घिमिरेको सक्रियतामा सत्ता गठबन्धन र प्रमुख विपक्षी दलका नेताबीच संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिउका नागरिकको छानबिन सम्बन्धी विधेयकलाई संसद्मा पेस गर्नेबारे छलफल हुने भएको छ।
सत्ता गठबन्धनका नेताबीच यसबारे छलफल भए पनि सभामुख घिमिरेले प्रमुख विपक्षी दल नेकपा एमालेसहितको बैठक राखेका हुन्। बैठक नेकपा एमालेका निवास बालकोटमा बस्नेछ।
यसअघि आइतबार पनि उक्त बैठक राखिएको थियो। तर, अन्तिम समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठकमा नआउने जानकारी पठाएपछि स्थगित भएको थियो।
हिजै एमाले अध्यक्ष ओलीले आफू बिरामी रहेको र घरमै आराम गरिरहेको सन्देश फेसबुकमार्फत साझा गरेपछि शीर्ष नेता आज उनको स्वास्थ्य लाभको कामना गर्न जाने र त्यहीँ छलफल गर्नेमा सहमत भएका हुन्।
अहिले बिहान ९ बजे प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्री देउवासमेत ओली निवास बालकोट पुगी स्वास्थ्य लाभको कामना गर्ने र संसद्मा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने तयारी छ।