प्रकाश सपुतको ‘सकम्बरी’बारे किन हुँदैछ यति धेरै विरोध र आलोचना?-Sutra News

प्रकाश सपुतको ‘सकम्बरी’बारे किन हुँदैछ यति धेरै विरोध र आलोचना?

मंगलबार, ५ बैशाख २०८०

मंगलबार, ५ बैशाख २०८०

काठमाडौँ- जहिल्यै आफ्ना सिर्जनालाई सार्वजनिक बहसमा ल्याउन सक्ने क्षमता बोकेका गायक हुन् प्रकाश सपुत। गलबन्दी होस् या बोल माया होस् या यसपटकको सकम्बरी होस्।



केही दिनअघिमात्रै सार्वजनिक सकम्बरी अहिले चर्चा र आलोचनाको संयुक्त्र यात्रामा छ। गीत युट्युबको ट्रेन्डिङ एकमा एकछत्र राज गरिरहेको छ। ठ्याक्कै भन्दा सकम्बरी गीत प्रतिदिन चर्चाको शिखर चढ्दो छ।

सामाजिक सञ्जाल टिकटकमा गीत प्रयोग गरेर भिडियो बनाउने पनि थुप्रै छन् । गीतको भिडियोले रेस्टुरेन्टमा काम गर्न पुगेकी एउटा निर्दोष केटीलाई कसरी मानिसहरूले नचाहँदा नचाहँदै गलत बाटोमा पुर्यदिन्छन् भन्ने देखाइएको छ।

सपुतका यसअघिका गीतमा जस्तै यसपटक पनि भिडियोका दृ‌श्यलाई लिएर प्रश्न उठाउँदै आलोचना गरिँदैछ। गीतले महिलाको भावनामाथि खेलबाड गरेको आरोप लगाइएको छ । कतिपयले प्रकाशले गीतमार्फत महिलाको आँसु र भावना बेचेको आरोप लगाएका छन् । वकिल तथा लेखक दुर्गा कार्कीले आफूले प्रकाश सपुतको गीत पुरै हेर्न नसकेको भन्दै आलोचना गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरो दिक्दारी गीतलाई पस्कन सपुतले प्रयोग गरेको कमजोर रुने प्रवृत्ति हो ।’

त्यस्तै सुस्मा सिग्देलले आफूलाई समाजको जिम्मेवार कलाकार मान्ने प्रकाश सपुतले गीतबाट आफ्नै क्षेत्रका छोरी मान्छेहरूलाई बदनाम गराएको आरोप लगाएकी छन् । गीत कला क्षेत्रमा आफूलाई उभ्याउन सङ्घर्ष गरिरहेका छोरी चेली प्रहार भएको उनको भनाइ रहेको छ ।

गायक प्रकाश सपुतको गीत आलोचनामा परेको यो पहिलो होइन । यस अगाडि पनि उनले सार्वजनिक गरेको ‘पीर’ बोलको गीत आलोचनामा परेको थियो । गीतमा उनले एक पूर्व महिला छापामारले काठमाडौँमा जीवन जिउनका लागि देह व्यापार गर्नुपरेको दृश्य समावेश गरेका थिए । जसको चर्को विरोधपछि गीतबाट उक्त दृश्य हटाइएको थियो ।

कतिले यो गीतको आलोचना गरिरहँदा चलचित्र, गीतमा भएका पात्रको विषयलाई लिएर यति धेरै फन्डा गर्न नहुने भनिरहेका छन्। यसबारे गायक तथा लेखक समपुतले पक्कै केही बोल्लान्। हुन त गीतको दोस्रो भाग पनि आउनेवाला छ। सकम्बरीको अन्त्यमा के सकम्बरी राजनीतिमा लाग्लिन्? भनेर दोस्रो भाग आउने सूचना दिइएको छ।

गीतको दोस्रो भाग ल्याएर गायक सपुतले अहिले आलोचना गर्नेहरूको मुख बन्द गराउलान् कि झनै आलोचनाको शिकार बन्लान् त्यो गीत आएपछि नै थाहा होला।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट