काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा ‘शम्भु’को स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ।
चालक थापा सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका–११ स्थित घरको छतबाट खसेर गम्भीर घाइते भएपछि उनलाई पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ।
गम्भीर चोट लागेकाले उनको टाउकाको शल्यक्रिया हिजो नै गरिएको छ। अहिले पनि थापा भेन्टिलेटरमै रहेको उपचारमा संलग्न चिकित्सक डा. सुदीपराज केसीले जानकारी दिए।
स्वास्थ्यमा केही सुधार भए पनि अवस्था गम्भीर रहेको उनको भनाइ छ।
थापाले आज बिहान पिसाब फेरेका छन्। अब उनको स्वास्थ्यमा केही सुधार आउने अपेक्षा गरिएको छ।
उनी तीनतले घरको छतबाट कसरी खसे भन्ने विषयमा अनुसन्धान जारी छ। घटना अनुसन्धानका लागि रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुप्रसाद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक दिलबहादुर थापा ‘शम्भु’ उनीसँगै सुतेका थिए। उनीहरूको सुतेको ठाउँबाट मदिराका बोतलहरू पनि बरामद भएको छ।
चितवन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका रवि चुनावी अभियानमा रहेका बेला उक्त घटना भएको हो। रविले यस घटनालाई राजनीतिकरण नगर्न र घाइते चालकको स्वास्थ्य लाभको कामना गर्न सबैलाई आग्रह पनि गरेका छन्।
यो पनि
https://www.sutranews.com/178749/2023/17/
https://www.sutranews.com/178732/2023/17/