काठमाडौँ- सत्ता गठबन्धनले तनहुँ–१ मा मंगलबार (आज) संयुक्त चुनावी सभा गर्दै छ। वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्ष्य गरेर सत्ता गठबन्धनले दमौलीमा चुनावी सभा गर्न लागेको हो।
नेपाली कांग्रेसको ब्यास नगरकार्यसमितिले आयोजना गर्ने चुनावी सभा दिउँसो १ बजे सुरु हुने छ।
चुनावी सभालाई कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस नगर कार्यसमितिले जनाएको छ।
तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
उम्मेदवार गोविन्द भट्टराईविरुद्ध भर्खरै कांग्रेस छाडेका अर्थविद् डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि कांग्रेसका लागि तनहुँ–१ चुनौतीपूर्ण देखिएको छ।
यहाँ नेकपा एमालेले नेपाल प्रहरीका पूर्व आईजीपी सर्वोन्द्र खनाललाई उठाएको छ। यसअघि मनोनयनको दिन तनहुँ पुगेका महामन्त्री थापा र चितवन पुगेका शर्माले रास्वपाका उम्मेदवार वाग्लेलाई गाली गरेर चुनावी भाषण गरेका थिए। त्यसपछि उनीहरूको निकै आलोचना हुँदै आएको छ।
त्यसो त महामन्त्री थापा र वाग्ले निकै नजिकका साथी पनि थिए। तर कांग्रेस छोड्ने बित्तिकै थापा वाग्लेमाथि खनिनु राम्रो नभएको तर्क पनि हुँदै आएको छ।