काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ। स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लगिएको हो ।
त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाका अनुसार चिकित्सक र परिवारको परामर्शपछि बुधबार एयर एम्बुलेन्समार्फत भारत लैजान सुझाव दिइएको थियो।
राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् बुधबार बिहान साढे नौ बजे भारत लागिएको राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले जानकारी दिए।
राष्ट्रपति पौडेलको चिकित्सकको टोली र परिवारका सदस्य पनि सँगै गएका छन्। उनका अनुसार भारतमा राष्ट्रपति पौडेलको उपचार अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुनेछ।
लामो समय औषधि सेवन गर्दा पनि छातीको संक्रमण कम नभएपछि उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि भारत लैजान सुझाएका थिए।
सोमबारमात्रै फलोअपका लागि अस्पताल पुगेर घर फर्किएका पौडेल फेरि छातीमा समस्या देखिएपछि मंगलबार शिक्षण अस्पतालमा भर्ना भएका थिए । १८ चैतमा पनि पेटमा समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो । पौडेलको बिदाइमा सरकारका मन्त्री तथा कांग्रेसका नेताहरू विमानस्थल पुगेका थिए।