काठमाडौँ- रुपन्देहीको सियारी गाउँपालिकामा गोली लागेर एक युवक घाइते भएका छन्। सियारी गाउँपालिका ३ सितापुरमा बुधबार साँझ गोली चल्दा स्थानीय १९ वर्षीय वीरेन्द्र केवट घाइते भएका हुन्।
घाइतेको भनाइ र घाउको प्रकृति हेर्दा गोली लागेको हुनसक्ने रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए।
बाख्रा चराइरहेका बेला आफूसँग भएको मोबाइल खोस्न खोज्दा नदिएपछि आफूलाई गोली हानिएको केवटले प्रहरीसमक्ष बताएका छन्।
खुट्टाको माथिल्लो भागमा गोली लागेका केवटलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।