गोरखा- गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । करिब एक हजार ४०० परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो ।
स्थानीय सुकबहादुर गुरुङका अनुसार नेटवर्कमा समस्या आएपछि फोन गर्न र इन्टरनेट चलाउन कठिनाइ भएको छ । उनले भने, ‘फोन लाग्दैन, टावर पनि देखाउँदैन । इन्टरनेट चलाउन डाटा नचल्ने समस्या छ ।’
नेपाल टेलिकम गोरखा शाखाका प्रमुख सरोज अर्यालले बारपाकमा रहेको टेलिकमको टावरमा बिद्युत्को भोल्टेज नपुग्दा नेटवर्कमा समस्या आएको बताए ।
समस्या समाधान गर्न त्यहाँ रहेको टेलिकमको टावरमा केन्द्रीय प्रसारण लाइनको थ्री फेज लाइनको मिटर जडान गर्न कार्यालयले आवश्यक पहल गरिरहेको उनले बताए ।