काठमाडौँ— बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको बसुन्धराश्री पुरस्कार डा. सन्दुक रुइत र मानश्री पुरस्कार महावीर पुनलाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानका सदस्य सचिव कृसु क्षेत्रीले जारी गरेको विज्ञप्तिअनुसार नेपाली समाजलाई स्वस्थ्य, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गर्ने डा. रुइतको तीलगंगा आँखा अस्पतालको सेवाकारी अभियान तथा आँखा उपचारका माध्यमबाट नेपाल–नेपालीको पहिचान विस्तार गराउन सकेकोमा बसुन्धराश्री प्रदान गर्ने निर्णय भएको हो ।
यसैगरी, ज्ञान–विज्ञान र अनुसन्धानको माध्यमबाट नेपाल–नेपालीको पहिचान बढाउने राष्टिय आविष्कार केन्द्रका महावीर पुनलाई मानश्री पुरस्कार दिइने भएको छ । दुवै पुरस्कारको राशि ७५ हजार रुपैयाँ रहेको र यी पुरस्कार असोज दोस्रो साता प्रदान गरिने भएको सदस्य सचिव क्षेत्रीले बताए ।
२३ वर्षअघि स्थापित प्रतिष्ठानले यसअघि घोषणा गरेको वर्ष २०७९ को बसुन्धराश्री र मानश्री पुरस्कार पनि कोरोना महामारीका कारण प्रदान गर्न नसकिएको जनाएको छ । यसअघि यी पुरस्कार बर्माका नेपाली भाषाविद् ठाकुरप्रसाद गुरागाईं र कलाकार थानबहादुर रावललाई प्रदान गरिएको थियो ।