काठमाडौँ- गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दीपक मुखियाको मृत्यु भएको हो । पाल्पामा उपचारको क्रममा शुक्रवार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए ।
आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर–३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर घाइते भएका छन् । घाइते कुँवरलाई थप उपचारका लागि बुटवल लगिएको डिएसपी पाण्डेले बताए । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा बिहीबारदेखि लागेको डढेलो निभाउन गएका बेला उनीहरु जलेको प्रहरीले जनाएको छ ।