बागलुङको दुर्गम गाउँ पुगेर बिरामीको उपचार गर्दैछन् गोविन्द केसी-Sutra News

बागलुङको दुर्गम गाउँ पुगेर बिरामीको उपचार गर्दैछन् गोविन्द केसी

शुक्रबार, ८ बैशाख २०८०

शुक्रबार, ८ बैशाख २०८०

निसीखोला– डा गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिनुभएको छ। मंगलबार निसीखोला आउनुभएका डा केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका छन्।



डा केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिए। केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुगेका हुन्। ‘उहाँ आउने कुनै जानकारी थिएन, स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ, टुप्लुक्क आउनुभयो, हामी अचम्ममा पर्‍यौं।’ डा केसीले ३ दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिएका छन्।

‘सबैलाई खबर गरिदिनु, कुनै रोगको समस्या भए आउनुहुन्छ, उहाँहरूको स्वास्थ्य जाँच गर्छु,’ डा केसीको भनाइ उल्लेख गर्दै शाहीले भने। डा केसी गत वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारका लागि यहाँ आएका थिए। आफू यो समय फुर्सदमा भएकाले निसीखोला आएको उनले बताए।

डा केसी भन्छन्, ‘पहिला बोबाङमा बिरामीको उपचार गरेको थिएँ, त्यसबेला यहाँका सर्वसाधारणले निसीखोला पनि आउनुपर्‍यो भन्नुभएको थियो, अहिले मेसो मिल्यो, त्यही भएर आएँ।’

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले डा केसीले यहाँ ३ दिन बिरामीको उपचार गर्ने बताएपछि गाउँपालिकाले उनले सिफारिस गरेका औषधिको व्यवस्थापन गरेको जानकारी दिए।

‘उहाँ एक्कासी बोहोरागाउँ स्वास्थ्यचौकीमा आएपछि थाहा भयो, उहाँले हाडजोर्नी र नसासम्बन्धीका बिरामीको उपचार गर्दै हुनुहुन्छ,’ अध्यक्ष घर्तीमगरले भने, ‘बिरामी आउन थालेका छन्, हामीले रु एक लाख बराबरको औषधि व्यवस्थापन गरेका छौँ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट