नापी कार्यालय चाबहिलका तत्कालीन नापी अधिकृतसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर-Sutra News

नापी कार्यालय चाबहिलका तत्कालीन नापी अधिकृतसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शुक्रबार, ८ बैशाख २०८०

शुक्रबार, ८ बैशाख २०८०

काठमाडौँ- नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।



काठमाडौं विकास प्राधिकरणको सहमतिविना स्मार्ट सिटीअन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुसी जोडी, नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेकाले नापीका कर्मचारीसहित त्यहाँका स्थानीयविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर भएको हो ।

साविक मुलपानी १ ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरेको आरोप लगाइएको छ ।

उक्त आरोपमा प्रमुख नापी अधिकृत महर्जन, नापी अधिकृत शंकर पाण्डेय र सर्भक्षेक रामनारायण यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरमा कैद र जरिवाना माग गरिएको छ ।

त्यस्तै, मालपोत कार्यालय, चावहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवरले उक्त कित्ताकाट भएका जग्गामा क्षेत्रफल बढी कायम गरेको आयोगले आरोपपत्रमा उल्लेख गरेको छ । काफ्ले र कुँवरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा कैद र जरिवाना माग गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का सीताराम अधिकारी र काठमाडौं महानगरपालिका वडा नं. ९ का नवीन दाहालले कित्ताकाट गर्ने क्रममा आफूहरूलाई लाभ प्राप्त गर्ने उद्देश्यले अनाधिकृतरुपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरेको आयोगको दाबी रहेको छ ।

उनीहरूले नापी तथा मालपोतका कर्मचारीहरूलाई सहयोग गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र ९ बमोजिमको कसुरको मतियार भई उक्त ऐनको दफा २२ बमोजिम सजाय माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट