गण्डकीको मुख्यमन्त्री कांग्रेसका पाण्डे बन्लान् कि माओवादीका चुमान?-Sutra News

गण्डकीको मुख्यमन्त्री कांग्रेसका पाण्डे बन्लान् कि माओवादीका चुमान?

आइतबार, १० बैशाख २०८०

आइतबार, १० बैशाख २०८०

काठमाडौँ- गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार प्रदेश सभामा विश्वासको मत पाएनन् । प्रदेशसभामा उपस्थित भएका ५९ सदस्य मध्य मुख्यमन्त्री अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत प-यो । पुस २५ गते बनेको अधिकारी सरकार एक सय पाँच दिनमा सत्ताच्यूत भएका हुन् । यति बेला गण्डकी प्रदेश सरकारविहीन छ ।



अब प्रदेश प्रमुखले सरकार गठनका लागि आव्हान गर्नेछन् । सत्ता गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादीबाट कुन दलले पहिला सरकारको नेतृत्व गर्ने भन्नेमा अन्यौलता देखिएको हो । प्रदेशसभाको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रदेश प्रमुखले छिटै सरकार गठनको आह्वान गर्ने र आइतबारसम्म नयाँ सरकार बन्ने बताएका हुन् ।

‘संविधानको कुन धाराबाट सरकार बन्छ भन्नेतिर म जान्नँ । प्रदेश प्रमुखले संविधान पढ्नुहुन्छ, उहाँले जे आव्हान गर्नुहुन्छ । सोही अनुसार सरकार बन्छ,’ उनले भने, ‘मलाई लाग्छ । भोलिसम्म नयाँ सरकार बन्छ ।’

नेकपा माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमानले अब गण्डकीमा संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसारकै सरकार बन्ने बताए । उनले यसअघि पनि सोही धारा अनुसार सरकार बनेकाले अब पनि उक्त धारामै सरकार बन्ने दाबी गरे ।

‘अबको प्रक्रिया विश्वासको मत प्राप्त नगरेको कुरा प्रदेश सभाले प्रदेश प्रमुख कार्यालयमा जानकारी दिन्छ,’ दलका नेता हरिबहादुर चुमानले भने, ‘ सर्वोच्च अदालतको पछिल्लो व्याख्यालाई ध्यान दिएर प्रदेश प्रमुखले संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलहरूको सरकार बनाउन आव्हान गर्नुहुन्छ । यसपछि सरकार गठन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट