काठमाडौँ- राष्ट्रिय स्वतन्त्रत पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले यसपालि तनहुँ क्षेत्र नं. १ का मतदाताको मन र मत दुवै विगतको जस्तो नहुने फेरिने बताउँछन्।
उपनिर्वाचनको मतदान केन्द्र निरीक्षणको क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
वाग्ले नेपाली कांग्रेस त्यागेर रास्वपाबाट उम्मेदवार बनेका हुन्। अहिले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई वाग्ले नै ठूलो चुनौती देखिएका छन्।
‘परम्परागत मतहरुलाई र विचारहरुलाई परिवर्तन गराएको मैले पाएको छु र सूचना प्रविधिको पहुँचले ५०–६० नाघेकाहरुको पनि मन र मत दुवै यसपालि फेरिनेवाला छ’ उनले भने।
गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनमा रास्वपाका डा. वाग्लेसँगै नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र लगायत उम्मेदवार छन् ।