काठमाडौँ- प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र १ मा मतदान जारी छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म २५ प्रतिशत मत खसिसकेको अनुमान छ ।
तनहुँ क्षेत्र १ का ६९ मतदानस्थलका १ सय ५२ मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।
उनले भने, ‘सबै मतदान केन्द्रमा शान्तिपूर्वक तरिकाले मतदान भइरहेको छ । अहिलेसम्म करिब २५ प्रतिशत मत खसेको अनुमान छ ।’ साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ । वैशाखको धूपमा दिउँसो गर्मी हुने भएकोले मतदाता सकेसम्म बिहानै मतदानस्थलमा पुग्ने कोशिस गरिरहेका छन् ।
तनहुँ १ मध्ये ३ वटा मतदानस्थल अतिसंवेदनशील र २४ वटा संवेदनशील तोकिएको छ । त्यसको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी ३ घेरामा सुरक्षा दिइएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रोमा नेपाली सेनाका सुरक्षाकर्मी गरी २ हजार ५ सय जना तैनाथ छन् । चुनावका लागि १ हजार ३ सय ६८ कर्मचारी खटिएका छन् ।
निर्वाचन सुरक्षाका लागि पृथ्वी राजमार्गअन्तर्गत तनहुँ १ आसपासको सडकखण्ड पूर्ण रुपमा बन्द छ ।
तनहुँ १ अन्तर्गत पाँच पालिकाका ४२ वटा वडा पर्दछन् । व्यास नगरपालिकाको वडा १ देखि १४ मध्ये ५ र ६ बाहेकका वडा, भानु नगरपालिका, बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकाका सबै वडा पर्दछन् ।
तनहुँ १ मा कुल १ लाख २३ हजार ३ सय ५० मतदाता छन् । गत ४ मंसिरको निर्वाचनको तुलनामा अहिले १ सय ८५ मतदाता घटेका हुन् । यसअघि निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यो क्षेत्र रिक्त भएको हो ।
उपनिर्वाचनमा ९ जना प्रतिस्पर्धामा रहे पनि खासगरी नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुने अनुमान छ । कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्लेबीचको त्रिपक्षीय भिडन्त रोचक छ । तीमध्ये खनाल र वाग्लेको यहाँ मतदाता नामावलीमा नाम नभएकोले भोट खसाल्न भने पाएनन् ।