जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन तराईमा अपरान्हपछि हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
शनिबार राति पनि तराईका केही स्थानहरूमा हावाहुरीसँगै वर्षा भएको थियो।
आइतबार बिहान मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जनाएको छ। दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, राति पनि पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।
सोमबार दिउँसो तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ भने अपरान्हपछि चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा सामान्य बदली हुने र थोरै स्थानहरूमा चट्याङसहित हल्का/क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ।
मंगलबार देशका थोरै स्थानमा चट्याङसहित हल्का/क्षणिक वर्षा हुने र तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।