काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा अन्तिम सुनुवाइ काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा तोकिएको छ । सुनुवाइ पेसी सूचीको चौथो नम्बरमा छ ।
मुद्दामा आज अन्तिम सुनुवाइ सुरु हुने सम्भावना रहेको सन्दीपका कानुन व्यवसायी मुरारी सापकोटाले जानकारी दिए । अन्तिम सुनुवाइमा दुवै पक्षको बहस सकिए लगत्तै फैसला आउनेछ ।
सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकेको छैन ।
लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटेलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।
कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो ।
तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।