एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले गर्दा अझै सुरू हुनसकेको छैन।
तालिका अनुसार खेल बिहान ९ बजे सुरू भइसक्नुपर्ने थियो। खेलको टससमेत भएको छैन्।
मूलपानी खेलमैदानमा हुने यो खेलमा अब २ बजेसम्म पनि टस नभएमा खेल रद्ध हुनेछ।
हिजो साँझदेखि परेको वर्षाका कारण मैदान भिजेको छ भने पिचमा कभर लगाइएको छ। यसअघि बिहान दुईपटक कभर हटाइए पनि पानी परिरहेकाले पिचलाई पुनः छोपिएको छ। नेपालको अन्तिम खेलमा बिहीबार कतारसँग रहेको छ। सो खेलमा नेपालले कतारलाई पराजित गरेमा नेपाल समूह विजेता बन्नेछ।
समूह ‘ए’ मा रहेको नेपालले यसअघिका मलेसिया र ओमान विरूद्धको दुबै खेलमा जीत हात पारिसकेको छ।
नेपालले आजको खेलमा जित हात पारे सेमिफाइनल पुग्नेछ।
नेपाल र साउदीबीच सन् २०१२ पछि पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। सन् २०१२ को एसिसी ट्रफीमा नेपालले साउदीलाई ९ विकेटले पराजित गरेको थियो।
त्यसयता साउदीले आफ्नो खेलमा निकै सुधार गरिसकेको छ, जसका कारण नेपालले राम्रै प्रतिष्पर्दा गर्नुपर्ने अनुमान गरिएको छ। साउदीले जारी प्रतियोगिताको पहिलो खेलमा कतारलाई ७ विकेटले पराजित गरेको छ।