देउवाको चिन्ता : ठूला दललाई जनताले पत्याउन छोडे-Sutra News

देउवाको चिन्ता : ठूला दललाई जनताले पत्याउन छोडे

सोमबार, ११ बैशाख २०८०

सोमबार, ११ बैशाख २०८०
तस्बिर : रोशन सापकोटा, रासस

काठमाडौँ- नेपाली काँग्रेस संसदीय दलको बैठमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन्।



आज सोमबार संसद् भवनमा बसेको काँग्रेस संसदीय दलको बैठकमा देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता औंल्याएको बताएका हुन्।

कांग्रेसका सांसद रामहरि खतिवडाले देउवाले उपनिर्वाचनमा जनताले ठूला दललाई मत नदिएको बारे चिन्ता व्यक्त गरेको जानकारी दिए।

उनले पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरुसँग चासो राखेको बताए । उनले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताए।

बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेको बीपीपछि काँग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बनेपनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए।

‘नेपाली काँग्रेस संसदीय दलले अब केही समयपछि आउने बजेटमा सांसदहरूको धारणा के छ ? भन्नेकुराको बारेमा छलफल गरेको छ । पार्टी सभापतिज्युले अहिले देशको विषम परिस्थिति छ । यसलाई अब कसरी लैजाने ? उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो’ खतिवडाले भने।

देउवाले पार्टीलाई अझै सुधारेर जानुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ। उनले अबको बजेट ल्याउँदा कस्ता आयोजनालाई सम्बोधन गर्ने भन्नेबारे पनि चासो राखेका थिए।

कांग्रेसबाट धेरै पटक अर्थमन्त्री बने पनि जनताको पक्षमा कार्यक्रम नआएका हुन् कि भन्ने शंका उब्जिएको भन्दै देउवाले बताएको खतिवडाले जानकारी दिए।

‘अरु बेला काँग्रेसका अर्थमन्त्री धेरै भए, धेरै कार्यक्रम जनताको पक्षमा आएनन् की भन्ने चिन्ताको विषय धेरै सांसदहरूले उठाउनुभएको छ । तर जनताको विकास निर्माणका अपेक्षा धेरै छन् । यसलाई कसरी सम्बोधन गरेर जाने?,’ उनले भने, ‘ भनेर छलफल भएको छ । आज धेरै मान्य सदस्यहरुले बोल्नुभएको छ र सबैले बोल्ने क्रम नसकिएकाले भोलि १० बजे पनि हामी बैठक बसेर छलफल हुनेछ । आगामी बजेटमा जनताका माग र कुरा कसरी सम्बोधन गर्ने, आयोजना पुराना कसरी सक्ने र नयाँ योजना कसरी थप्ने भन्ने बारेमा नै छलफल भयो।’

सांसद खतिवडाले सांसदहरूले आगामी बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा थारैमा एउटा नागरिकले देख्ने योजना, स्थानीय तहको कार्यालयमा जाने बाटोहरू कालोपत्रे गर्ने र व्यवस्थित शहर, स्वास्थ्य र शिक्षा हरेक तहमा पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट