काठमाडौँ- नेपाली राजनीतिमा नयाँपन चाहिन्छ, भ्रष्टहरू धेरै भए दण्डित गर्नुपर्छ भन्दै आइरहेका अभिनेता दीपकराज गिरीले आज पनि ठूला भनिएका कांग्रेस, एमाले, माओवादीसहितका दललाई व्यंग्य गरेका छन्।
तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले निर्वाचित भएपछि उनले चुनावी प्रचारमा बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरू, अन्य शीर्ष नेता गएर बोलेको विषयमा उनले व्यंग्य गरेका हुन्।
‘कस्लाइ मन्त्री बनाउने ? कुन देशमा को राजदूत पठाउने ? कॉहाबाट कति कमिसन आउँछ भन्ने कुरामा मस्त हुँदा हुँदै आफ्ना गढहरू भत्किँदै गएको पत्तै भएन! शुभप्रभात’गिरीले फेसबुकमार्फत भनेका छन्।
तनहुँमा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिताएर पठाए मन्त्री बनाइदिने बताएका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाले तनहुँ १ बाटै निर्वाचित रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएको अब भट्टराईलाई जिताए मन्त्री बनाउने आश्वासन दिएका थिए। यसको चौतर्फी आलोचना भएको थियो।