काठमाडौँ- तनहुँ १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेलाई उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले माला लगाइदिएर बधाई दिएका छन्।
रास्वपाका वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी हुँदा कांग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याएका थिए।
आज बिहान दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्रसमेत दिएको छ। उक्त कार्यक्रममा कांग्रेसका उम्मेदवार भट्टराई पनि पुगेका थिए।
वाग्ले यसअघि कांग्रेसमै थिए। तर पार्टीमा अवसर नपाएको र आफूलाई दबाउन खोजिएको भन्दै उनी रास्वपा पुगे र पहिलो निर्वाचनमै संसदीय यात्रा तय गरे। वाग्ले अर्थविद् हुन्।