काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन्।
चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि पत्रकारहरूलाई प्रतिक्रिया दिंदै उनले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन्।
‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ। त्यसलाई कायम राखिराख्न कारण देखेको छैन,’ सभापति लामिछानेले भने, ‘सरकारमा जाने त सम्भावना नै छैन।’
उनले सरकारले गरेका कामकारबाही चित्तबुझ्दो नभएको पनि बताए।
अस्थिरता नहोस् भन्ने बाहनामा गलतलाई नबोक्ने भन्दै छिटै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरे। उनले चुनावको परिणामपछि काठमाडौँमा पार्टीमा छलफल गरेर निर्णय गरिने जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा रास्वपाले पनि विश्वासको मत दिएको थियो। रास्वपाको सांसदको संख्या २१ हुने पक्का छ। सरकार निर्माणमा रास्वपा निर्णायक देखिन थालेको छ।