काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तनहुँ १ बाट निर्वाचित अर्थविद् डा.स्वर्णिम वाग्लेलाई बधाई दिएका छन्। लामिछानेले बधाई दिँदै संसद्मा उनको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे।
‘राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले स्वर्णिम आयाम दिने छ भन्ने कुरामा म विश्वस्त छु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,’प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकोमा बधाई छ। ‘
वाग्ले ३४ हजार ४८० मतसहित विजयी भएका हुन्। तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन भएको थियो।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले ८ हजार ५५५ मत प्राप्त गरेका छन्। स्वर्णिमले यहाँ सुरुवातदेखि नै अग्रता लिएका थिए।
वाग्लेले गत चैत १५ गते कांग्रेस छाडेको औपचारिक घोषणा गरेका थिए। सोही दिन उनलाई रास्वपाले तनहुँ–१ बाट उम्मेदवार बनाएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले स्वर्णिम आयाम दिने छ भन्ने कुरामा म विश्वस्त छु। प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकोमा बधाई छ। @SwarnimWagle pic.twitter.com/HfqFdNSBDy
— Rabi Lamichhane (@hamrorabi) April 25, 2023