गृह मन्त्रालय, पूर्व प्रमहरूसहित ‘भुटान’को नाम आएपछि सेन्सर पास भएन ‘काँडेतार’-Sutra News

गृह मन्त्रालय, पूर्व प्रमहरूसहित ‘भुटान’को नाम आएपछि सेन्सर पास भएन ‘काँडेतार’

मंगलबार, १२ बैशाख २०८०

मंगलबार, १२ बैशाख २०८०

चलचित्र विकास बोर्ड अन्तरगतको सेन्सर बोर्डले ‘काँडेतार’लाई सेन्सर पास गर्न अस्वीकार गरेको छ।



बोर्डले सिनेमाका केही दृश्य तथा संवादलाई हटाउनुपर्ने माग गर्दै सेन्सर सिफारिस दिन अस्वीकार गरेको हो। सिनेमाका निर्माता, लेखक, निर्देशक तथा प्रमुख अभिनेतासमेत रहेका नवल खड्काले बोर्डले आफूलाई केही दृश्यका संवादका शब्दहरू हटाएर सेन्सरमा ल्याउन भनेको सुत्रन्यूजलाई जानकारी दिए।

‘केही दृश्यहरू परिमार्जित गर्नुपर्यो,फिल्म भयंकर छ तर हामीलाई नि गार्हो छ। तपाईंले यी दृश्य हटाउनुपर्यो, यति गर्नुभयो भने राम्रो हुन्छ भन्नुभयो’, खड्काले सूत्रन्यूजसँग भने।

सेन्सरको यो भनाइको जवाफमा आफूले आफ्नो सिनेमा देशभक्ति बोकेको सिनेमा भएको र ती दृश्य तथा संवाद हटाउँदा सिनेमाको मर्म मर्ने भएकाले पुनःविचार गर्न भनेको खड्काले बताए।

अब त्यसै गर्नुहुन्छ त भन्ने सुत्रन्यूजको प्रश्नमा उनले त्यस्तो गर्ने सोच नभएको जानकारी दिए।

‘म फेरी आग्रह गर्छु। मान्नुभएन भने जनतासँगै अन्य निकायमा जान्छु’ खड्काले भने।

विकास बोर्डका सदस्य रवि अधिकारीले पनि सुत्रन्यूजसँग सिनेमाको सेन्सर पास नगरिएको स्वीकार गरे।

‘सिनेमाको सेन्सर पास नगर्ने भन्ने होइन। सेन्सरको सुझाव अनुसार काटछाँट गरेर आएमा पास गर्न कुनै आपत्ति छैन। कसरी अगाडि बढ्न सकिन्छ भनेर हामी छलफलमै छौं’ अधिकारीले भने।

सिनेमा ‘काँडेतार’का दृश्य तथा संवादमा सेन्सरमा बस्ने गृहमन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालयका प्रतिनिधि, सेन्सर बोर्डका अध्यक्ष नेत्र सुवेदी तथा संचारमन्त्रालयकी प्रतिनिधि सदस्य सचिव निर्मला न्यौपानेले आपत्ति प्रकट गरेका थिए। उनीहरूले सिनेमामा गृह मन्त्रालयको भवनको दृश्य तथा पूर्व प्रधानमन्त्रीहरूको नामै तोकेर सरकारको आलोचना गरिएको दृश्य तथा छिमेकी राष्ट्र भुटानको नाम प्रयोग भएकोमा आपत्ति जनाएका हुन्।

खड्काले १२ वर्ष अगाडि बनाएको ‘दशगजा’ सिनेमा पनि सेन्सर लफडामा परेको थियो। सो सिनेमा नेपालको सीमा भारतलेर मिच्ने गरेको विषयमाथि बनाइएको थियो। उनको यो ‘काँडेतार’ सिनेमा पनि नेपालभारत सिमाना खुल्ला छोड्न नहुने र त्यसलाई काँडेतार लगाएर बार्नुपर्ने मुद्धामा केन्द्रित रहेको छ।

सिनेमा ‘काँडेतार’मा नवलसँगै गौरव पहारी, सुरबिना कार्की, रेबिका कार्की, प्रशान्त यादव, रोमियान लिम्बु, संजय खतिवडा, मुरलीधर आदिको मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट