तनहुँ क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले तनहुँका जनताका अपेक्षालाई न्याय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँका जनताले दिएको भरोसा र सद्भावलाई न्याय दिने गरी काम गर्ने उल्लेख गरेका हुन्।
‘तनहुँका जनताले गरेको भरोसालाई डगमगाउन दिनेछैन, अपेक्षा ठूलो छ त्यसलाई न्याय दिने गरी काम गर्ने मेरो प्रतिबद्धता हुनेछ,’ उनले भने।
लोकतन्त्रमा व्यक्तिभन्दा माथि देश हुने बताउँदै डा. वाग्लेले सकारात्मक एजेण्डा लिएर जनतामाझ गएको र जनताले उक्त एजेण्डालाई समर्थन गरेको बताए।
‘म यहाँ कसैलाई हराउनका लागि आएको थिइन, देशको मुद्धा बोकेर आएको थिएँ। केही प्रवृत्तिको विरुद्धमा आएको थिएँ,’ उनले भने।
उनले प्रतिस्पर्धी दलका उम्मेदवारहरुसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
डा. वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने बताउँदै जिल्लाको विकासका साथै देशका मुद्धा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गरे।
प्रत्येक मत अमूल्य हुने बताउँदै उनले त्यसलाई आफूले आत्मसाथ गरेको बताउँदै उनले भने, ‘मेरो नियत असल छ। झुटा आश्वासन दिएको छैन। सकारात्मक एजेण्डा लिएर जनतामाझ गएको थिएँ। सबैको सामूहिक प्रयासले नै देश विकास गर्ने हो।’
भिडियो सहित