पदमुक्त भए ढाकाराम-Sutra News

पदमुक्त भए ढाकाराम

मंगलबार, १२ बैशाख २०८०

मंगलबार, १२ बैशाख २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले निष्कासन गरेको सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन्।



सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा उनको पद रिक्त भएको सूचना दिएसँगै उनी पदमुक्त बनेका हुन्।

मन्त्री बन्न मेडिकल व्वसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो टेप सार्वजनिक भएपछि उनलाई रास्वपाले कारवाही गरेको थियो। पार्टीले गरेको कारवाहीसँगै उनको सासंद पद गएको हो। उनी समानुपातिक सूचिबाट सांसद बनेका थिए।

‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेको र सो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भनी निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद सचिवालयमा दिएकोले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु’, ढाकाराम पदमुक्त भएको सुचना दिदैं सभामुख घिमिरेले भने,’राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको व्यहोरा समेत माननीय सदस्यहरूलाई जानकारी गराउँछु।’

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ मा कुनै पनि दलबाट निर्वाचित सदस्यलाई उक्त पार्टीले निष्कासन गरेपछि सांसदको पद रिक्त हुने व्यवस्था उल्लेख छ।

वैशाख ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निष्कासन गरेको पत्र संसद सचिवालयलाई दिएको थियो।

संसद सचिवालयले श्रेष्ठलाई निष्कासन गरेको जानकारी अब निर्वाचन आयोगमा जानकरी दिनेछ भने राजपत्रमा पनि सूचना प्रकाशित गर्नेछ।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगमार्फत् अर्को सांसद छान्ने बाटो खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट