दिपक-दीपा टिमः ९ वर्ष, ७ सिनेमा, २ अर्ब बढिको कमाइ!-Sutra News

दिपक-दीपा टिमः ९ वर्ष, ७ सिनेमा, २ अर्ब बढिको कमाइ!

मंगलबार, १२ बैशाख २०८०

मंगलबार, १२ बैशाख २०८०

नेपाली सिनेनगरीमा दिपकराज गिरी तथा दीपाश्री निरौलाको टिमले सिनेमा बनाउन थालेको एक दशक छोएको छ।



लामो समय नेपाल टेलिभिजनमा हास्य ट्रेलिश्रृखंला चलाएर घरघरमा चर्चित बनेको यो जोडीले त्यसपछि हास्य कलाकारहरूको जम्बो टोली लिएर सिनेमामा प्रवेश गर्‍यो। त्यसअघि उनीहरू सिनेमाका जोकर जस्ता सानातिना भूमिकामा मै आउँथे र हराउँथे। उनीहरू स्टार नभइ फिलर कलाकारजस्ता थिए।

लुट निर्माणपछि नेपाली सिनेमाले फरक लय समात्यो विस्तारै बलिउडको फर्मूला शैलीमा यथार्थ र नेपाली समाज घुस्न थाल्यो। त्यसैबाट होसिएर दीपकले कलाकारिताबाट कमाएको पैसा सिनेमा निर्माण खन्याए।

दिनेश डिसीको निर्देशनमा बनेको ‘६ एकान ६’ सिनेमा २०७० सालमा रिलिज भयो। रिलिज भएपछि सिनेमाले वकसअफिसमा धेरैलाई आश्चर्यमा पार्दै राम्रै कमाइ गर्‍यो। उनीहरूमाथि जोकरका फिल्म चल्ला र भन्ने प्रश्नरूपी तरबार झुण्डिएको थियो। सिनेमाले त्यसको जवाफ दियो।

त्यसपछि हौसिएको यो टोलीले माओबादी पृष्ठभूमिमा हास्यरसमा ‘वडा नम्बर ६’ लिएर आयो उज्वल घिमिरेको निर्देशनमा। सिनेमा पहिलो सिनेमाभन्दा झन बढि चम्कियो।

तेश्रो सिनेमा आयो ‘छक्का पञ्जा’।

सिनेमाले उधुम कमाइ गर्‍यो।

त्यसपछि यही नाममा सिक्वल आए, तिनले त्यसपछि वक्सअफिसमा एकपछि अर्को गर्दै रेकर्ड तोड्न थाले।

सिनेमा चौथो श्रृखंलासम्म आइपुगेको छ। पाँचौलाई लिएर हलबाट नउत्रिदैं चर्चा सुरू भइसकेको छ। यसबिचमा उनीहरूले रोहित अधिकारीसँग निर्माण सहकार्य गर्दै दीपेन्द्र लामाको निर्देशनमा ‘६ माया छपक्कै’ बनाए। यो सिनेमाले पनि राम्रो कमाइ गर्‍यो।

यो दशकमा उनीहरूका ७ सिनेमा बने र रिलिज भए।

यो अवधिमा मनोरञ्जनसँगै व्यापारका हिसाबले समेत चर्चा कमाएको सिनेमाले कति कमायो त?

हामीले यही प्रश्न दिपकराज गिरीलाई गर्‍यौं। उनले ठ्याक्कै यति भनेर अंक नतोकेपनि कमाइको ग्रस हिसाब भने बताए।

सिनेमामा ग्रस कमाइ भन्नाले कुल व्यापारको रकम हो जुन रकम निर्मातासँगै वितरक र हलवालामा समेतमा प्रतिशतका आधारमा बाँढिन्छ।

उनले दिएको हिसाब अनुसार सात सिनेमाको कुल वक्सअफिस कमाइ एक अर्ब ४ करोड नेपाली रूपैयाँ छ। यो नेपाल भित्र भएको हल रिलिजबाट प्राप्त कमाइ हो। उनले डायस्पोरामा पनि सिनेमाले यही हाराहारीमा व्यापार गरेको सूत्रन्यूजलाई बताए।

तर विदेशबाट आफ्नो हातमा कति रकम हातपर्‍यो भन्ने बारेमा उनले खुलाउन चाहेनन्।

यसहिसाबले उनका सिनेमाले देश र विदेश गरेर कुल २ अर्ब ८ करोड रूपैयाँको कमाइ गरेको छ। यसमा डिजिटल राइटस्समेत जोड्ने हो भने थप केही करोड रकम जोडिन्छ।

जसमध्ये देशभित्रको मात्र हिसाब गर्दा छक्कापञ्जा सिरिजबाट सबैभन्दा बढि ७५ करोड ग्रस कमाइ भएको छ। पहिलो सिनेमा ‘६ एकान ६’बाट ५-६ करोड व्यापार गरेको उनले बताए।

दिपकका अनुसार दोश्रो सिनेमा ‘वडा नम्बर ६’ले ९-१० करोडको कमाइ गरेको छ भने ‘६ माया छपक्कै’बाट १३ करोड कमाइ भएको छ।

यस हिसाबले बितेको ९ वर्षमा ७ सिनेमाबाट उनीहरूले औषतमा १५.८५ करोड कमाइ गरेका छन्। धेरै सिनेमाले लगानीसमेत उठाउन नसक्ने अवस्थामा यो सफलतालाई कम आँक्न सकिदैन्।

त्यसैगरी वर्षका हिसाबबाट यसलाई गन्ने हो भने ९ वर्षमा ११.५५ करोड रूपैयाँ प्रतिवर्ष उनीहरूको सिनेमाले कमाइ गरेको छ। बिचमा कोरोना कहरका कारण दुई वर्षसम्म सिनेमा बनाउन र रिलिज गर्न पाएनन् नत्र यो आँकडामा थप ५० करोड जोडिनसक्थ्यो भने सहज अनुमान गर्न सकिन्छ।

सिनेमा निर्माण धेरै मान्छे डुब्ने क्रम जारी रहेका अवस्थामा यो टिम निरन्तर सफल हुनु आफैंमा एउटा मानक हो। यस्तो सफलता हासिल गरेका उनीहरूको यो यात्राले भविष्यमा कुन अंकगणित पार गर्छ, त्यो भने हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट