काठमाडौँ- वैशाख १० गते उपनिर्वाचन भएको तीन क्षेत्र तनहुँ-१, चितवन-२ र बारा-२ को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। यो निर्वाचनमा ठूला भनिने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई घण्टी बजाउने काम राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो।
तनहुँमा कांग्रेसको पेलानमा परेपछि कांग्रेस नै छोडेर रास्वपा प्रवेश गरेर टिकट लिएका अर्थविद् डा.स्वर्णिम वाग्ले शानदार मतका साथ निर्वाचित भए। उता चितवनमा रास्वपाका सभापति रवि लामिछाने इतिहासकै धेरै मत ल्याएर निर्वाचित भए।
तनहुँमा वाग्लेसँग भिड्न कांग्रेसले केन्द्रीयसमेत रहेका गोविन्द भट्टराई, एमालेले मंसिरको निर्वाचनमा काठमाडौँमा हारेका सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको थियो। उता चितवनमा कांग्रेसले पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ र एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उतारेको थियो। औपचारिक रुपमा रास्वपाका उम्मेदवारले जिते एमाले र कांग्रेसका उम्मेदवारले हारे। उता माओवादीको त के कुरा गर्नु उपनिर्वाचनमा उम्मेदवार उठाउने हैसियत पनि बनाउन सकेन।
बारामा सधैँ सत्ताको चास्सीमा लिप्त हुने जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सत्ताधारी दलले साझा उम्मेदवार बनाए र सिके राउत नेतृत्वको जनमतका उम्मेदवारलाई हराए ।
तर खास कुरा के भने न जितनारायणले हारे, न रामप्रसादले हारे न गोविन्द भट्टराईले हारे। हार्ने हरुवाहरू त शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड पो हुन्। यी ठाउँबाट अजंगको नेतृत्व हार्यो। मत कहाँ पोखियो त्यो अलग कुरा, पुराना दलप्रति जनताको विश्वास नरहेको सन्देश हो यो। अब जनता कसैका कार्यकर्ता रहेनन्। दलको कोर एरिया रहेन।
धेरै आक्रोश, थोरै आशा अहिले जहाँ पोखियो, उनीहरू पनि हौसिनु जरुरी छैन। यो कुनै गल्ती नगर्दा वा नभेटिँदासम्म हो। सबैभन्दा ठूला जनता हुन्। अब कार्यकर्ता मात्र बनेर रहन सकिन्न भनेर जनताले दिएको ठूलो सन्देश हो यो। कांग्रेसले त कांग्रेसमा आशाको रुपमा हेरिएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डर नै बनाएको थियो। थापा तनहुँमा र शर्मा चितवनमा धेरै खटेका थिए।
तनहुँमा गगनलाई आफ्ना नजिकका मित्र स्वर्णिमविरुद्ध भाषण गर्नुपरेको थियो। कति गाह्रो भयो होला त्यो गगनलाई नै थाहा होला। उपचुनावको उमेदवारी दर्ताको दिन चैत २० गते कांग्रेस महामन्त्री थापाले दमौली पुगेर एउटा राजनीतिक बहसको उठान गरेका थिए– ‘देश निर्माणका लागि विदेशमा पढेका व्यक्ति योग्य हुन् कि विदेश पढ्ने अवसरको खोजी नगरी देशमै बसेर लोकतन्त्रका लागि लडेका?’
त्यसपछिको दुईसाता देश–विदेशका पढेलेखेका व्यक्तिहरू दुई कित्तामा बाँडिएका थिए। करिब तीन सातासम्म संसारभरि छरिएका नेपालीबीच यो बहस चलेको थियो। गगनको उक्त अभिव्यक्तिपछि कतिले स्वर्णिमको आलोचना गरे भने कतिले गगनको बचाउ गरे र भट्टराईलाई समर्थन गर्दै भोट मागे। यो बहसको २० दिनपछि तनहुँ–१ का मतदाताले निर्णय दिए– स्वर्णिमको पक्षमा।
उपनिर्वाचनमा कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार बनेका उनी अत्यधिक मतसहित विजयी भए। राजनीतिक छवि नभएका पूर्वप्रहरी महानिरीक्षक खनालले एमालेको शक्तिभन्दा निकै कमजोर मत पाए। सायद् खनालको विवादित विगतको दण्ड एमालेले राम्ररी पायो।
कांग्रेस महामन्त्री थापा तनहुँ–१ का उम्मेदवार थिएनन् । उनी पार्टीले आफ्ना उम्मेदवार जिताउन खटाएका ‘कमाण्डर’ थिए।
स्वर्णिमसँगको उनको विगतको सानिध्यता हेर्दा यो जिम्मेवारी स्वीकार्नु गगनको एउटा राजनीतिक भूल थियो। अझ व्यक्तिगतरूपमै आक्षेप लाग्ने गरी आमसभामा बोल्नु गल्ती थियो। यसै कारण उनी उम्मेदवार नभए पनि उनले नै हारेजसरी आम रूपमा सन्देश प्रवाह भएको छ। यो गगनको राजनीतिक भविष्यका लागि अशुभ संकेत हो।
गगन सडकबाट आन्दोलन गर्दागर्दै नेता भएका हुन्। उनी कसैले तानेर होइन, संस्थापनसँग जुधेर नेता भएको सर्वस्वीकार्य छ तर उनका अभिव्यक्तिले बेलाबेला आफैँलाई एम्बुस थापिरहेको छ। उनको अभिव्यक्ति नै पार्टीबाहिरको लोकतान्त्रिक जमात उनको सबैभन्दा ठूलो शक्ति थियो । पार्टीभित्रको तल्लो तप्काबाट पाएको समर्थनले उनलाई महामन्त्री बनाएको थियो ।
अहिले सत्तामा रहेको पार्टीभित्र ‘दाइ–भाउजू समूह’ भनेर आलोचित कांग्रेसको संस्थापन पक्षले त गगनको हारका रूपमा प्रचार गर्ने नै भयो ।
किनकि, सो क्षेत्रको चुनावी कमाण्डर बनाएर गगनलाई खटाउनुको अन्तर्निहीन उद्देश्य नै त्यही थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
थापाले विदेश पढेर आएका कुशल अर्थशास्त्री वाग्लेतर्फ लक्षित चुनावी सभालाई सम्बोधन गर्दा भनेका थिए, ‘मैले विदेशमा बसेर यो गरेर आएको, यत्तिको जागिर छोडेर आएको भन्नुहुन्छ भने मलाई भन्न मन लाग्छ– मैले त जागिर नखाएको, तिमिले त खाएर छोडेर आएको । मलाई त भन्न मन लाग्छ– तिमी त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको हो । म त त्यो बेलामा सडकमा लडेर बसेको हो, छातीमा ढुङ्गा खाएर बसेको हो। (विदेश) जान नसक्ने भएर होइन, जाने क्षमता नभएर होइन।’
यो सम्बोधनको भिडियो अहिले पनि सामाजिक सञ्जालभरि भाइरल। चैतको डढेलो फैलिए जसरी सामाजिक सञ्जालमा फैलिएको यो भिडियोले उनको साख घटाएको छ । सामाजिक सञ्जालमा आएका गाली हेर्दा लाग्छ– त्यो साख छिटै फर्किन मुस्किल हुनेछ । उपचुनावबाट गगनप्रति सहानुभूति राख्ने कांग्रेसबाहिरका लोकतन्त्रवादी समूह उनीसँग चिढिएका छन् ।
अनि विगतमा गगनलाई साथ दिँदै आएको प्रबुद्ध वर्गले उपचुनावमा स्वर्णिमलाई समर्थन जनाएको छ । गगनको निन्दा पनि गरेको छ । अहिले गगनको निन्दा गर्ने वर्ग त्यही हो, जो हिजोदेखि उनको भलो चिताउँथ्यो । त्यसैको बलमा कांग्रेसभित्र उनलाई स्थापित हुन सहज हुन्थ्यो । अनि स्वर्णिमसँग निकटतम प्रतिद्वन्द्वी भएर फराकिलो मतान्तरले पराजित भट्टराईलाई भन्दा कयौँ गुणा बढी गगनलाई क्षति गरेको छ ।
विगतमा कांग्रेसभित्र वैकल्पिक नेतृत्वको आशामा गगनप्रति सहानुभूति राख्ने समूह अहिले कांग्रेस पार्टीकै विकल्प खोज्ने ठाउँमा पुगेको छ । यसको असर कांग्रेस पार्टीको भावी राजनीतिमा समेत पर्नसक्छ । गत निर्वाचनमा कांग्रेसको चुनावी घोषणापत्रका मुख्य मस्यौदाकार थिए– अर्थशास्त्री वाग्ले । उनले उमेदवारी दर्ताको तीन दिनअघि मात्र कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीको उमेदवार बनेका थिए ।
कांग्रेसका उमेदवार बनेर वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले ६ पटक संसदीय चुनाव जितेको र ०७४ सालमा एकपटक मात्र एमालेसँग हारेको क्षेत्रबाट भारी मतान्तरले स्वर्णिम विजयी भएका छन् । कांग्रेसले पाँच महिनाअघि आफूले जितेको सिट गुमाएको छ । एमालेले पनि विगतमा जितेको क्षेत्रमा जन–समर्थन गुमाएको छ ।
आम निर्वाचन भएको पाँच महिनापछि भएको यो चुनावलाई यस अर्थमा ‘मिनी–जनमतसंग्रह’का रूपमा हेरियो कि विशेषतः नेपाली कांग्रेसले यसलाई जीवन–मरणको विषय बनायो ।
उपचुनावमा पनि कांग्रेसले नेकपा (माओवादीकेन्द), जसपा, नेकपा (एस), लोसपासँग गठबन्धन गर्यो, जुन आवश्यक थिएन ।यो चुनावको परिणामबाट प्राप्त हुने संख्याले संसदीय अंकगणितमा फेरबदल हुँदैनथ्यो तर पनि प्रधानमन्त्री पुष्पकमल दाहालसहित पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधव नेपाल, बाबुराम भट्टराई प्रतिपक्षी दलका उम्मेदवार हराउन समूह बनाएर चुनाव प्रचारमा गए ।
अनि तीनवटा क्रान्ति गरेको र साढे सात दशकको इतिहास बोकेको दाबी गर्ने कांग्रेस, अहिलेको परिवर्तन आफ्नो तागतले मात्र भएको दाबी गर्ने माओवादी–जसपा–लोसपा सबै मिल्दा पनि, पद र राज्यशक्तिको दुरुपयोग गर्दा पनि एक वर्ष पनि नपुगेको एक्लै लडेको कान्छो पार्टीका उमेदवारसँग पराजित भएका छन्– गठबन्धनका उमेदवार ।
चुनाव प्रचार गर्न हिँडेका प्रधानमन्त्री प्रचण्डले आश्वासन दिए– तपाईं चुनाव जिताएर पठाइदिनुस्, म मन्त्री बनाइदिन्छु । कांग्रेस सभापति देउवाले पनि त्यही आश्वासन दोहो¥याए । यदि यो देशको निर्वाचन आयोगमा पनि भारतका चर्चित निर्वाचन आयुक्त टीएन सेसनजस्तो व्यक्तित्व भइदिएको भए क–कसको उमेदवारी रद्द हुन्थ्यो, को–को दण्डित हुन्थे ? यो कल्पनामात्र गर्न सकिने विषय हो ।
प्रधानमन्त्रीसहितको सत्तारुढ गठबन्धनका पूर्वप्रधानमन्त्रीहरू दमौली गए, भरतपुर पनि गए । अनि बाराको गढीमाई पनि पुगेर संयुक्त रूपमा आश्वासन बाँडे– हाम्रो उमेदवार जिताएर पठाइदिनुस्, मन्त्री बनाइदिन्छौँ, यो क्षेत्रको विकास गरिदिन्छौँ । त्यसका बाबजुद उनीहरूका उमेदवार पराजित हुनु भनेको उनीहरूको पराजय हो ।
उपचुनाव भएका तीन क्षेत्रमध्ये पाँच महिनाअघिको चुनावमा तनहुँ–१ कांग्रेसले, बारा–२ जसपाले र चितवन चाहिँ रास्वपाका अध्यक्ष रवि लामिछानेले स्वयम्ले जितेको क्षेत्र हो। कांग्रेसले आफ्नो क्षेत्र जोगाउन सकेन । जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन बारामा शक्तिको दुरुपयोग गरेको आरोप सत्ता–गठबन्धनकै जनमत पार्टीका अध्यक्ष सीके राउतले लगाएका छन् ।
चितवनमा भने रास्वपा अध्यक्ष रवि लामिछानेको वर्चश्व कायमै रहने देखिन्छ । उपचुनावलाई ‘मिनी–जनमतसंग्रह’ मान्ने हो मंसिर ४ को जनमत फेरबदल भइसकेको देखिन्छ । अहिलेको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल दुवैले आफ्नो स्थान गुमाएको देखिन्छ । पुराना राजनीतिक दललाई नयाँले प्रतिस्थापन गर्दै गएका छन् ।
राजनीतिक नैतिकता हुने हो भने यसले मुख्य दलका नेतृत्वको राजीनामाको माग गर्दछ । अनि सत्तारुढ दलले जनमत गुमाएका कारण नयाँ जनादेशको समेत माग गर्दछ, जुन आर्थिक रूपमा जर्जर हुँदै गएको देशको अहिलेको आवश्यकता होइन । सामान्यतः उपचुनावको परिणाम सत्तारुढ दलको पक्षमा जानुपर्ने हो किनकि सत्तरुढ दलले जितेमा क्षेत्रमा अवसर प्राप्त हुनछ भनेर । तर, उपचुनावको परिणामले विपरीत सन्देश दिएको छ– सत्तारुढ गठबन्धनको मुख्य घटक नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमाले दुवैप्रति जनताको आकर्षण छैन ।
परिस्थितिमा कुनै ‘मिराकल’ नभएमा कांग्रेस–एमाले दुवै दललाई आगामी चुनावको सबैभन्दा चुनौती रास्वपा नै हो उपचुनावमा एउटा पनि क्षेत्रमा उमेदवारसम्म नउठाएका नेकपा (माओवादीकेन्द्र), नेकपा (एस), लोसपाको त आगामी निर्वाचनसम्म पुग्दा अस्तित्व नै लोप हुने खतरा बढेको छ ।
०७४मा एमालेले र ०७९मा कांग्रेसले अस्तित्व जोगाइदिएको माओवादीलाई आगामी चुनावमा यी दुवै दलले जोगाउनसक्ने अवस्था हुने छैन भन्ने तनहुँको परिणामले देखाएको छ । गत मंसिरको निर्वाचनपछि कांग्रेस–एमाले दुवै दलले राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मतबारे टिप्पणी गरेका थिए– ‘त्यो ‘नो भोट’ हो, पानीको फोकाजस्तै अर्को चुनावसम्ममा हराएर जान्छ ।’
उपचुनावको परिणामले देखाएको छ– राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको आशा घटेको छैन । स्वर्णिम र रविको विजयले देखाएको छ– यसको ‘क्रेज’ कायम छ । योप्रतिको आकर्षण बढेको छ । आगामी दिनमा लोकप्रिय र विद्वत् छवि भएका कांग्रेस–एमालेका कार्यकर्ता पेलिएर पनि त्यहीँ खुम्चिएर बस्ने छैनन् ।
ठूलो नेताको चेपुवामा परेर अवसरबाट बञ्चित भइरहेका एमालेको तेस्रो पुस्ताका लागि पनि विकल्पको ढोका खुलेको छ । अनि कांग्रेस, एमाले र माओवादीले पनि पार्टीलाई पुनर्संगठित गरी आन्तरिक लोकतन्त्रको अभ्यास नगर्ने हो भने आगामी दिन सहज हुने छैन।