नेपाल युरोपियन फिल्म फेस्टिभल यसपटक नेपालका तीन सहरमा-Sutra News

नेपाल युरोपियन फिल्म फेस्टिभल यसपटक नेपालका तीन सहरमा

बुधबार, १३ बैशाख २०८०

बुधबार, १३ बैशाख २०८०

यसपटक नेपाल युरोपियन फिल्म फेस्टिभल नेपालका तीन सहरमा आयोजना हुने भएको छ।



सोमबार काठमाडौँस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाट कार्यालयमा भएको पत्रकार सम्मेलनमा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोएल हिभोनेटले फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी दिएकी हुन् ।

फेस्टिभलको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा यही बैशाख १५ देखि १७ सम्म, दोस्रो चरणमा मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा बैशाख २०, २१ र २२ गतेसम्म र तेस्रो चरणमा काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा बैशाख २९ देखि जेठ १ सम्म आयोजना हुनेछ।

फेस्टिभलको यस संस्करणको मूल विषयवस्तु सबैका लागि मानव अधिकार उत्सव रहेको छ।

आम मानिसमा उनीहरुको अधिकारको बारेमा सचेतना अभिवृद्धि गर्ने र सबैको मानवअधिकार रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने उद्देश्य फेस्टिभलको रहेको नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले बताइन्।

तीन सहरमा हुने महोत्सवमा युरोपका ख्याति प्राप्त निर्देशकहरुका आठ वटा तथा नेपालमा निर्माण भएका छोटा फिल्महरु प्रदर्शन गरिनेछ।

तीनवटै ठाउँमा महोत्सवको सुरुमा ह्यामी रामेजनद्वारा निर्देशित फिल्म ‘एनी डे नाउ’ प्रदर्शन गरिनेछ।

यसैगरी, महोत्सवमा टोनी ह्यागेन फाउण्डेशनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्महरु पनि प्रदर्शन गरिनेछन्। जसमा अंकित खड्गीद्वारा निर्देशित ‘आई वान्टेड टु बी लाइक माधुरी दिक्षित’, विशाल रोक्का मगरको ‘गोर्खा गर्ल’ र ग्रिष्म गिरीको ‘ब्लुज अफ पिंक’ छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट