वामदेव गौतमविरुद्धको मुद्दामा आज सुनुवाइ-Sutra News

वामदेव गौतमविरुद्धको मुद्दामा आज सुनुवाइ

बुधबार, १३ बैशाख २०८०

बुधबार, १३ बैशाख २०८०

काठमाडौं- अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइएको विरोधमा दायर गरिएको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।



सर्वोच्च अदालतको संवैधानिक इजलासमा राष्ट्रिय सभा सदस्य गौतमविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ हुदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि सुनुवाइ हुँदैछ ।

प्रतिनिधि सभामा पराजित गौतम २०७७ साल भदौंमा राष्ट्रिय सभा सदस्यमा मनोनयन भएका थिए । निर्वाचनमा पराजित व्यक्तिलाई त्यही कार्यकालमा मनोनयन गर्न नहुने भनी सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।

रिट निवेदनमाथि अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा राय बाझियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले निर्वाचनमा पराजित व्यक्तिलाई सोही अवधिमा मनोनयबाट जनप्रतिनिधीमूलक संस्थामा ल्याउनुलाई ‘संवैधानिक नैतिकताको उल्लंघन’ भनी टिप्पणी गरे । अरु न्यायाधीशहरुले भने गौतमविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए ।

जनताको मतबाट अस्वीकृत व्यक्ति फेरि अर्को निर्वाचनबाट अनुमोदिन नभएसम्म शासन व्यवस्थामा सहभागी हुनुलाई जनभावना अनुकुल काम भएको मान्न नसकिने भन्दै न्यायाधीश खतिवडाले गौतमको नियुक्तिलाई विरोधाभाषयुक्त भनी टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट