अर्थमन्त्री अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ।
सत्तापक्षले आफैले दर्ता गराएको र आफू समर्थक मात्र रहेको जरूरी सार्वजनिक महत्वको प्रस्तावको छलफलमा अर्थमन्त्री अनुपस्थित भएको भन्दै विरोध गरेको हो।
एमालेले बैठकमा उभिएर विरोध जनाएको थियो।
एमालेको विरोधपछि बैठक १४ मिनेटका लागि स्थगित भएको थियो।
एमाले सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री उपस्थित नभए छलफलमा सहभागी नहुने बताएका थिए।
सरकारका अन्य मन्त्री उपस्थित भएको र अर्थ मन्त्रालयका कर्मचारीको टिपोटका आधारमा अर्थमन्त्रीले जवाफ दिने बताएर राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठक गर्न खोजेपनि एमाले सांसदहरूले भौतिक रुपमा उपस्थित हुनुपर्ने अडान लिएका थिए।
‘खेलाँची गरे जस्तो भयो। संसदको गरिमालाई होच्याउने काम गरियो’, एमाले सांसदले बैठकमा भने, ‘देशको अर्थतन्त्रसँग सम्बन्धित प्रस्तावको छलफल भौतिक रूपमा उपस्थित भएर सुन्नुपर्छ।’
त्यसपछि अध्यक्ष तिमिल्सिनाले ‘मन्त्रीले ढिला आउनुपर्ने बाध्यता बताउनु भएको’ उल्लेख गर्दै एमाले सासंदहरूलाई आश्वस्त पार्न खोजेपनि एमाले सांसदहरू उभिइराखेपछि तिमिल्सिनाले बैठक स्थगित गरेका थिए।
राष्ट्रिय सभामा मदनकुमारी शाह प्रस्तावक रहेको सुदृढ अर्थतन्त्र निर्माणका लागि नीति निर्माणसम्बन्धी प्रस्ताव माथि छलफल राखिएको थियो।
अर्थमन्त्री प्रकाशशरण महत उपस्थित भएपछि राष्ट्रिय सभाको बैठक अहिले सुरू भइसकेको छ।