आज गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दै कांग्रेसका सुरेन्द्र पाण्डे, दीपक मनाङे पनि यही सरकारमा बन्नेछन् मन्त्री-Sutra News

आज गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दै कांग्रेसका सुरेन्द्र पाण्डे, दीपक मनाङे पनि यही सरकारमा बन्नेछन् मन्त्री

बिहिबार, १४ बैशाख २०८०

बिहिबार, १४ बैशाख २०८०

काठमाडौँ- गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बन्ने पक्का भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि दिएको समय अपराह्न ४ बजे सकिँदैछ।



यहाँ माओवादीका हरिबहादुर चुमान र कांग्रेसका पाण्डेबीच को पहिले मुख्यमन्त्री बन्ने भन्ने विषयमा सहमति नहुँदा विवाद बढिरहेको थियो। विवाद बढेपछि दुवै दलका शीर्ष नेताहरू शेरबहादुर देउवा र पुष्पकमल दाहालसहितको छलफलले पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

मन्त्रालय भागबन्डा पनि देउवा र दाहालले नै गर्नेछन्। गत पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी नेतृत्वको सरकारबाट माओवादी बाहिरिएपछि उक्त सरकार वैशाख ९ गते ढलेको छ। अहिले माओवादीले कांग्रेससँग गठबन्धन गरेको छ।

विधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि सोही बुँदाअनुसार सरकार गठनका लागि आह्वान गर्ने कि उपधारा ३ बमोजिम ठूलो दलबाट मुख्यमन्त्री नियुक्त गर्ने अन्योल थियो । कानुनी परामर्शपछि प्रदेश प्रमुख गुरुङले १२ गते उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएर आह्वान गरेका थिए ।

गण्डकीमा कांग्रेसका २७, माओवादीका ७ (सभामुखबाहेक) सदस्यले ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन सहज बहुमत पुग्छ । मनाङबाट स्वतन्त्र रुपमा सर्वसम्मत चुनावले जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङ) पनि गठबन्धनमा हुँदा ३५ सदस्य पुग्छ ।

मुख्यमन्त्री दाबी गरिरहेको माओवादीले पहिलो चरणमा नपाए पनि ७ मध्ये ३ मन्त्रालय पाउनुपर्ने दाबी पनि गरिरहेको छ ।
आज मुख्यमन्त्रीसँगै कांग्रेसबाट १ जना र माओवादीबाट १ जना गरी ३ जनाले शपथ लिने तयारी भइरहेको छ। मन्त्रीको नाम भने अझै पक्का भइसकेको छैन। त्यसो त यो सरकारमा दीपक मनाङे पनि मन्त्री बन्ने पक्का जस्तै छ। मनाङे पाण्डेले दोस्रोचरणमा मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्री बन्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट