आर्सनलमाथि सिटीको शानदार जित-Sutra News

आर्सनलमाथि सिटीको शानदार जित

बिहिबार, १४ बैशाख २०८०

बिहिबार, १४ बैशाख २०८०

काठमाडौं- मिडफिल्डर केभिन डी ब्रुयनाको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर सिटीले बुधबार राति आर्सनललाई ४–१ ले हराएको छ । इत्तिहाद रंगशालामा हासिल गरेको यो जितसँगै इङ्लिस प्रिमियर लिगको उपाधि होडमा सिटीको पकड बलियो बनेको छ ।



सिटीको जितमा बेल्जियमका स्टार डी ब्रुयना आफैँले दुई गोल गर्नुका साथै अर्को खेलमा अवसर सिर्जना गरिदिएका थिए । सातौँ मिनेटमै डी ब्रुयनाले गरेको गोलबाट सिटीले अग्रता लिएको थियो । उनले इर्लिङ ब्राउट हालान्डको पासलाई नियन्त्रणमा लिएर तीन विपक्षी रक्षकलाई कटाएर गोल गरेका थिए ।

४५औँ मिनेटमा जोन स्टोन्सले सिटीको अग्रता दोब्बर बनाए । स्टोन्सले डी ब्रुयनाको फ्रीकिक पासलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए । रक्षक स्टोन्सको गोललाई रेफ्रीले अफसाइड घोषित गरिदिएका थिए । तर, भिडियो सहायक रेफ्रीले उक्त गोललाई मान्यता दिएको थियो ।

५४औँ मिनेटमा हालान्डको पासमै डी ब्रयनाले अर्को गोल थपे । इन्जुरी समयमा बैकल्पिक खेलाडी फिल फोडानको पासमा हालान्डले अर्को गोल थपेपछि सिटीले सहज जित निकालेको थियो । फोडान ८७औँ मिनेटमा ज्याक ग्रेलिसको स्थानमा मैदान छिरेका थिए । त्यसअघि ८६औँ मिनेटमा रोब होल्डिङले गरेको गोल आर्सनलका लागि सान्त्वना बन्यो ।

डी ब्रुयनाको प्रदर्शन बारेमा सोधिएको प्रश्नमा सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘म सधैँ उसलाई झकझकाई राखेको हुन्छु । मलाई लाग्छ कि उसले राम्रो गर्न सक्छ । तर, आजको रणनीतिमा ऊ पछाडि जान सक्ने थियो । उसलाई अलि बढी स्वतन्त्रता दिइएको थियो । उनी धेरै खतरनाक खेलाडी हुन् । डी ब्रयना र हालान्डको सम्बन्ध असाधारण छ । र, हामीले आज सकेसम्म त्यसलाई प्रयोग गर्ने प्रयास गरेका थियौं ।’

डी ब्रुयनाले पनि प्रशिक्षकले दिएको स्वतन्त्रताको फाइदा उठाए । सिटीले प्रायजसो भन्दा धेरै गोलको अवसर सिर्जना गर्यो । ‘उनीहरूले एक एक खेलाडीलाई नियन्त्रणमा राखेर खेल्न थालेपछि हामीले अलि लामो पास खेल्नु पथ्र्यो,’ बेल्जियमका डी ब्रुयनाले भने, ‘उनीहरू बलियो टिम हो । उनीहरूविरुद्ध खेल्न धेरै गाह्रो छ । आज हामीले हाम्रो उत्कृष्ट प्रदर्शन गर्यौं ।’

आर्सनलले सबैखाले प्रतियोगितामा गरी पछिल्लो आठ भेटमा सिटीलाई हराउन सकेको छैन । र, आर्सनलले लिगमा सिटीलाई २०१५ यता हराउन असफल छ । गएरातिको जितसँगै सिटीले ३१ खेलबाट ७३ अंक जोडेको छ । जुन शीर्ष स्थानको आर्सनलभन्दा दुई अंकले पछाडि हो । तर, आर्सनल दुई खेल बढी खेलेको छ ।

यससँगै उपाधि होडमा सिटीले पकड जमाएको छ । र, यसलाई सिटीका प्रशिक्षक ग्वार्डिओलाले पनि स्वीकार गरेका छन्।

‘पक्कै पनि अब हाम्रो हातमा आएको छ । यो दुई खेलबाट ६ अंक जोड्नु आवश्यक छ । त्यसमा विजय हासिल गनुपर्छ,’ ग्वार्डिओलाले उपाधि होडबारे भने ।

सिटीले आइतबार फुलहमलाई पराजित गरेमा अंकतालिकाको शीर्ष स्थानमा उक्लन सक्छ । सिटी सबैखाले प्रतियोगितामा गरी पछिल्लो १७ खेलमा अपराजित छ । सिटीले १४ खेलमा विजय हासिल गरेको छ भने ती खेल बराबरी खेलेको छ ।

ग्वार्डिओलाले अबको तीन खेलबाट उपाधिको होड स्पष्ट हुने बताउँछन् ।

पछिल्लो समय सिटी राम्रो लयमा छ । सिटीले एफए कपको उपाधि भिडन्त पक्का गरेको छ भने च्याम्पियन्स लिगको सेमिफाइनल स्थान बनाउन सफल भएको छ । सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा साविक विजेता रियाल मड्रिडविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, ३ जुनमा हुने एफए कपको उपाधिका लागि शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

आर्सनल २००३/०४ को सिजनपछि पहिलोपटक उपाधि जित्ने अभियानमा थियो । तर, गएरातिको हारपछि आर्सनलको अभियानमा ठूलो धक्का लागेको छ ।

‘मलाई थाहा छैन के आवश्यक छ,’ उपाधि होडबारे आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने, ‘हामीले अहिलेसम्म गरेका सबै चीज गर्न आवश्यक छ र हामी जित्न थाल्नेछौं ।’

आर्सनलले अब लिगमा पाँच खेल खेल्न बाँकी छ । जुसमा चेल्सी, न्युक्यासल युनाइटेड र ब्राइटन पनि बाँकी छ । गएराति सिटीविरुद्धको खेलबारे प्रशिक्षक अर्टेटाले भने, ‘सिटीजस्तो बलियो टिमविरुद्ध खेल्दा पहिलो ३० मिनेटमा जे गर्नुपर्ने हो । हामीले त्यो गर्न सकेनौं । उनीहरूले हामीलाई त्यसको सजाय दिए । हामीले असाधारण टिमविरुद्ध खेलेका थियौं । हामी पनि एक असाधारण टिम थियौं । तर, आज हाम्रो प्रदर्शन त्यसअनुरुप थिएन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट