काठमाडौं– उपचारका लागि भारत लगिएको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले त्यसमा स्पष्ट पारेको छ।
सचिवालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको चाहना यहिँ उपचार गर्ने हुँदा हुँदै पनि चिकित्सक र प्रधानमन्त्रीसहित उच्च राजनीतिक विशेष आग्रहका कारण भारत लगिएको स्पष्ट पारेको हो।
छातिको इन्फेक्सनका कारण त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका पौडेलको अहिले भारतको दिल्लीको नोयडास्थित एम्स अस्पतालमा उपचार भइरहेको छ।
नेपालमा एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सको सुझाव र राजनीतिक दलका शीर्ष नेतृत्वको सुझावअनुसार नै दिल्ली लगिएको सचिवालयले जनाएको छ।
सरकारको निर्णयअनुसार नै नियम र निश्चित विधिअनुसार नै उपचारका लागि लगिएकोमा विवादमा पार्ने मनसायका साथ सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचना र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको सचिवालयले विज्ञप्तिमार्फत् जनाएको छ।
सचिवालयले भनेको छ, ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन–२०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जाने विषयलाई अलग–अलग व्यवस्था गरिएको स्पष्ट छ। तर ऐन कानुन नै नबुझेजस्तो गरी राष्ट्रपतिका परिवारका सदस्यले दैनिक भ्रमण भत्ता पाउनेजस्ता आम नागरिकलाई दिग्भ्रमित पार्ने सूचना सम्प्रेषण भइरहेकोप्रति हामी दु:ख व्यक्त गर्दछौं। यस प्रकारका भ्रामक सूचना र दुष्प्रचारको पछि नलाग्न आम नेपाली दिदिबहिनी तथा दाजुभाइहरु लाग्नुहुनेछैन भन्नेमा हामी विश्वस्त छौं।’