काठमाडौँ- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भएको बताएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले एक अमुक दलगत शैक्षिक संगठनले महानगरको शिक्षा विभागमा ताला लगाउने गरेको दुष्प्रयास विफल पारेको बताएका छन्।
‘काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौँ’, उनले लेखेका छन्।
विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको भन्दै महानगरले निकालेको परिपत्रको विरोधमा बिहीबार नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकटको अखिल क्रान्तिकारी विद्यार्थी संगठनले काठमाडौं जिल्ला समितिले काठमाडौं महानगरपालिका शिक्षा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको थियो।