एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र कुवेत भिड्दै-Sutra News

एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र कुवेत भिड्दै

शनिबार, १६ बैशाख २०८०

शनिबार, १६ बैशाख २०८०

काठमाडौं- एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज (शनिबार) घरेलु टोली नेपालले कुवेतको चुनौतीको सामना गर्दै छ । घरेलु मैदानमा जारी प्रतियोगिताको समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेकाे नेपाल आज कुवेतविरुद्ध मैदान उत्रिदा पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।



समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल आएको नेपालले समूहमा मलेसियालाई ६ विकेटले र दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गर्दा साउदी अरेबियाविरुद्धको तेस्रो खेल भने वर्षाका कारण नतिजाविहिन बनेको थियो । समूह चरणको चौथो खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको थियो ।

यता, समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको कुवेतले भने समूह चरणका चार खेलमध्ये तीन खेलमा जित निकालेको थियो । समूह चरणको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) सँग १४३ रनको हार बेहोरेको कुवेतले दोस्रो खेलमा बहराइनलाई दुई विकेटले र तेस्रो खेलमा सिङ्गापुरलाई चार विकेटले पराजित गरेको थियो ।

अन्तिम खेलमा हङकङविरुद्ध ३० रनको जित निकालेसँगै कुवेतले अन्तिम चारमा स्थान पक्का गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

आजै हुने अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएई र समूह ‘ए’ को उपविजेता ओमानबीच पनि सोही समयमा प्रतिस्पर्धा हुँदै छ । यो खेल मुलपानी क्रिकेट रंगशालामा हुनेछ ।

यसैवर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी थिए । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको थियो ।

प्रिमियर कपको समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार थिए । यस्तै, समूह ‘बी’मा हङकङ, कुवेत, यूएई, सिंगापुर र बहराइन थिए ।

प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट