नाईं नभन्नू ल-६ ले आफ्नो सिरिजकै सबैभन्दा खराब र विर्सनलायक प्रदर्शन गरेको छ।
शुक्रबारबाट रिलिज भएको सिनेमाले आफ्नो सिरिजमध्येकै खराब ओपनिङ गरेको छ।
वक्सअफिस श्रोतका अनुसार सिनेमाले देशभर १ सय ७६ शो पाएको थियो, त्यसमा कुल ५० हजार ४ सय ८६ टिकट दर्शकका लागि उपलब्ध भएकोमा ४ हजार ८ सय ८५ टिकटमात्र बिक्री भएको थियो।
प्राप्त सिटमा ९ प्रतिशत अकुपेन्सी रहेको सिनेमाले करिब १४ लाखको आसपास कमाइ गरेको श्रोतले सूत्रन्यूजलाई जानकारी दिएको छ।
सिनेमाको यो प्रदर्शन यसका सिरिजहरूको इतिहासका आधारमा हेर्ने हो भने आश्चर्यजनक हो।
यो सिनेमालाई यस वर्ष राम्रो व्यापार गर्ने सिनेमाको सूचिमा राखिएको थियो।
यसका साथै अघिल्ला सिरिजहरूमा गीतसंगीतका लागिसमेत चर्चित रहँदै आएकोमा यो सिरिजको गीतसंगीतका हिसाबले पनि कमजोर सावित भएको थियो। सिनेमामा दर्शकको आकर्षण नबन्नुमा यसलाई पनि प्रमुख कारक मानिएको छ।
विकास आचार्य निर्देशित सिनेमाले समीक्षात्मकसँगै दर्शक प्रतिक्रियासमेत निराशाजनक पाएको छ। झण्डै डेढ करोड बढीको बजेटमा तयार भएको सिनेमा फ्लपको सूचिमा चढ्ने निश्चितप्रायः छ।
यो सिक्वलको असफलताले सिनेमाको अर्को सिक्वल अन्यौलमा परेको छ। रिलिजअघि निर्देशक आचार्यले सिनेमाको सिक्वल दर्शकको चाहानामा भरपर्ने बताएका थिए।
यस्तै सिनेमाको समापनमा स्वस्तिमाको इन्ट्री भएको दृश्यले नयाँ सिक्वलको सम्भावनालाई उच्च बनाएको भएपनि सिनेमाको ओरालो यात्राले अब त्यसको भविष्य के हुन्छ भन्नेमा अन्यौलता श्रृजना भएको छ।