एसीसी प्रिमियर कप : आज नेपाल र यूएई भिड्दै, वर्षाले खेल प्रभावित हुने सम्भावना-Sutra News

एसीसी प्रिमियर कप : आज नेपाल र यूएई भिड्दै, वर्षाले खेल प्रभावित हुने सम्भावना

सोमबार, १८ बैशाख २०८०

सोमबार, १८ बैशाख २०८०

काठमाडौं- यसै वर्ष पाकिस्तानमा हुने एसिया कप खेल्ने लक्ष्य बोकेको नेपाली टिमलाई आज (सोमबार) एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले चुनौती प्रस्तुत गर्दैछ ।



प्रिमियर कपको उपाधि जित्ने टिमले एसिया कपमा भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा स्थान पक्का गर्नेछ । नेपाल अहिलेसम्म एसिया कपमा छनोट हुन सकेको छैन ।

विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीका पूर्ण सदस्य रहेका भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य पूरा गर्न नेपाललाई आज यूएईको चुनौती पन्छाउन आवश्यक छ । प्रतियोगितामा अपराजित नेपाल फाइनलमा पनि सोही लयलाई कायम राख्न चाहन्छ । नेपालले घरेलु मैदानमा भएको पछिल्लो १३ खेलमा अपराजित छ ।

नेपालले घरेलु मैदानमा सम्पन्न पछिल्लो १३ खेलमध्ये ११ खेलमा जित निकाल्दा दुई खेल नतिजाविहीन टुंगिएको थियो । जसमध्येका नौ खेल आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त थिए ।

प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा कुवेतलाई समूह चरणकै नतिजाका आधारमा पछि पारेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । यता, समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएको यूएईले त्यहाँ ओमानलाई डकवर्थ लुईस पद्दतिअनुसार दुई रनले हराउँदै नेपालसँगको उपाधि भिड्न्त पक्का गरेको थियो ।

यसै वर्ष पाकिस्तानमा हुने एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी थिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको थियो ।

प्रिमियर कपको समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार थिए । समूह ‘ए’ बाट नेपाल र ओमान सेमिफाइनलमा प्रवेश गरेका थिए । समूह ‘बी’मा हङकङ, कुवेत, यूएई, सिंगापुर र बहराइन थिए । समूह ‘बी’ बाट यूएई र कुवेत अन्तिम चारमा आएका थिए ।

आजको खेल वर्षा वर्षाले प्रभावित भएमा भोलि हुनेछ। भोलि पनि प्रभावित भएमा सुपर ओभरबाट खेलको फैसला हुनेछ। सुपर ओभरको प्रयास दुईपटक हुनेछ। सुपर ओभर पनि हुने अवस्था नभए आइसीसीको र्‍यांकिङको आधारमा नेपाल स्वत: विजेता बन्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट