काठमाडौँ- एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ। नेपाली टिममा एकजना परिवर्तन गरिएको छ। दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झा ल्याइएको हो।
नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन्।
यसै वर्ष पाकिस्तानमा हुने एसिया कप खेल्ने लक्ष्य बोकेको नेपाली टिमलाई आज (सोमबार) एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले चुनौती प्रस्तुत गर्दैछ ।
प्रिमियर कपको उपाधि जित्ने टिमले एसिया कपमा भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा स्थान पक्का गर्नेछ । नेपाल अहिलेसम्म एसिया कपमा छनोट हुन सकेको छैन ।
विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीका पूर्ण सदस्य रहेका भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य पूरा गर्न नेपाललाई आज यूएईको चुनौती पन्छाउन आवश्यक छ । प्रतियोगितामा अपराजित नेपाल फाइनलमा पनि सोही लयलाई कायम राख्न चाहन्छ । नेपालले घरेलु मैदानमा भएको पछिल्लो १३ खेलमा अपराजित छ ।
नेपालले घरेलु मैदानमा सम्पन्न पछिल्लो १३ खेलमध्ये ११ खेलमा जित निकाल्दा दुई खेल नतिजाविहीन टुंगिएको थियो । जसमध्येका नौ खेल आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त थिए ।
प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा कुवेतलाई समूह चरणकै नतिजाका आधारमा पछि पारेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । यता, समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएको यूएईले त्यहाँ ओमानलाई डकवर्थ लुईस पद्दतिअनुसार दुई रनले हराउँदै नेपालसँगको उपाधि भिड्न्त पक्का गरेको थियो ।