रविलाई प्रचण्डको सन्देश : सरकारमा आउनुस् भ्रष्टाचारको फाइल खोल्न सहयोग गर्छु-Sutra News

रविलाई प्रचण्डको सन्देश : सरकारमा आउनुस् भ्रष्टाचारको फाइल खोल्न सहयोग गर्छु

सोमबार, १८ बैशाख २०८०

सोमबार, १८ बैशाख २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा आउन आग्रह गरेका छन्। सरकारमा सहभागी हुने वा समर्थन नै फिर्ता लिने भन्नेबारे निर्णय गर्न आज रास्वपाले बैठक डाकेको छ।
उक्त बैठकअघि प्रचण्डले चितवनमा आफ्नै निवासमा पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै रास्वपाका सभापति लामिछानेलाई सन्देश पठाएका हुन्।



उनले रविले भने जस्तै सरकार पाँच वर्ष नै चल्ने र भ्रष्टाचारको फाइल खोल्न सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
‘सरकारमा सहभागी हुनुस्,’ उनले रविलाई सन्देश छोड्दै भने, ‘भ्रष्टाचारको कुन फाइल खोल्ने हो म तयार छु।’

यसअघि रास्वपाका सभापति लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार नभएकोले समर्थनसमेत फिर्ता लिने बताएका थिए ।
प्रचण्डले रास्वपा सरकारमा आए भ्रष्टाचारबाहेकका अन्य विषयहरु पनि नीति तथा कार्यक्रममा सामेल गराउन सकिने बताएका छन् । उनले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी पनि गरे।

सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको प्रधानमन्त्रीले बताएका छन् ।

‘सरकारकामा सहभागी हुनेबारे उहाँले पनि आफ्नो पार्टीमा सल्लाह गर्ने र मैले पनि गठबन्धनमा छलफल गर्ने र केही दिनपछि फेरि भेट्ने र एउटा टुङ्गोमा पुग्ने भनेका छौं,’ प्रधानमन्त्रीले भने,‘समर्थन फिर्ता लिने स्थिती बन्ने मैले देखेको छैन।’

छलफलमा रवि लामिछानेले पुरानै मन्त्रालयको दाबी नगरेको पनि प्रधानमन्त्रीले बताए। ‘पहिलाकै मन्त्रालय खोज्नु अस्वभाविक होइन। त्यसैमा अडिनुहुन्छ भन्नेपनि ठानेको छैन। फेरि त्यही भन्ने चाहीँ हुँदैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट