यूएईविरुद्ध नेपाल : सोमपाल र करणले लिए एकएक विकेट-Sutra News

यूएईविरुद्ध नेपाल : सोमपाल र करणले लिए एकएक विकेट

सोमबार, १८ बैशाख २०८०

सोमबार, १८ बैशाख २०८०

काठमाडौं-  यूएईविरुद्ध नेपालले दुई विकेट लिएको छ। एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खलमा यूएईविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।



त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका लागि तीव्र गतिका बलर करण केसीले यूएईका भृत्य अर्विन्दलाई आउट गर्दै दोस्रो विकेट लिए । उनले भृत्यलाई आसिफ शेखबाट क्याच आउट गरेका हुन् । जारी प्रतियोगिताको सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत रहेका भृत्य ९ बलमा ८ रन बनाएर आउट भए ।

यसअघि, पहिलो विकेट लिने क्रममा आफ्नो दोस्रो स्पेल बलिङमा आएका सोमपाल कामीले ओपनर मोहमद वासिमलाई आउट गरेका थिए ।

८ बल खेलेर ११ रन बनाएका वासिमलाई सोमपालले ललित राजवंशीबाट क्याच आउट गरे ।
यसै वर्ष पाकिस्तानमा हुने एसिया कप खेल्ने लक्ष्य बोकेको नेपाली टिमलाई आज (सोमबार) एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले चुनौती प्रस्तुत गर्दैछ ।

प्रिमियर कपको उपाधि जित्ने टिमले एसिया कपमा भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा स्थान पक्का गर्नेछ । नेपाल अहिलेसम्म एसिया कपमा छनोट हुन सकेको छैन ।

विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीका पूर्ण सदस्य रहेका भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य पूरा गर्न नेपाललाई आज यूएईको चुनौती पन्छाउन आवश्यक छ । प्रतियोगितामा अपराजित नेपाल फाइनलमा पनि सोही लयलाई कायम राख्न चाहन्छ । नेपालले घरेलु मैदानमा भएको पछिल्लो १३ खेलमा अपराजित छ ।

नेपालले घरेलु मैदानमा सम्पन्न पछिल्लो १३ खेलमध्ये ११ खेलमा जित निकाल्दा दुई खेल नतिजाविहीन टुंगिएको थियो । जसमध्येका नौ खेल आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त थिए ।

प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा कुवेतलाई समूह चरणकै नतिजाका आधारमा पछि पारेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । यता, समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएको यूएईले त्यहाँ ओमानलाई डकवर्थ लुईस पद्दतिअनुसार दुई रनले हराउँदै नेपालसँगको उपाधि भिड्न्त पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट