काठमाडौँ- कीर्तिपूर क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले सातौँ विकेट हात पारेको छ। यूएईविरुद्धको खेलमा नेपालका लागि स्पिनर सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो र टिमका लागि सातौँ सफलता दिलाएका हुन्।
नेपालका लागि करण केसीले २, सोमपाल कामी, ललितनारायण राजवंशी र गुल्सन झाले एकएक विकेट लिएका छन्।
आजको फाइनल जितेमा नेपालले भारत र पाकिस्तान जस्ता क्रिकेटका महाहस्ति राष्ट्रसँग एसिया कपमा खेल्न पाउनेछ।
वर्ष पाकिस्तानमा हुने एसिया कप खेल्ने लक्ष्य बोकेको नेपाली टिमलाई आज (सोमबार) एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले चुनौती प्रस्तुत गर्दैछ ।
प्रिमियर कपको उपाधि जित्ने टिमले एसिया कपमा भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा स्थान पक्का गर्नेछ । नेपाल अहिलेसम्म एसिया कपमा छनोट हुन सकेको छैन ।
विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीका पूर्ण सदस्य रहेका भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य पूरा गर्न नेपाललाई आज यूएईको चुनौती पन्छाउन आवश्यक छ । प्रतियोगितामा अपराजित नेपाल फाइनलमा पनि सोही लयलाई कायम राख्न चाहन्छ । नेपालले घरेलु मैदानमा भएको पछिल्लो १३ खेलमा अपराजित छ ।
नेपालले घरेलु मैदानमा सम्पन्न पछिल्लो १३ खेलमध्ये ११ खेलमा जित निकाल्दा दुई खेल नतिजाविहीन टुंगिएको थियो । जसमध्येका नौ खेल आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त थिए ।
प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा कुवेतलाई समूह चरणकै नतिजाका आधारमा पछि पारेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । यता, समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएको यूएईले त्यहाँ ओमानलाई डकवर्थ लुईस पद्दतिअनुसार दुई रनले हराउँदै नेपालसँगको उपाधि भिड्न्त पक्का गरेको थियो ।
https://www.sutranews.com/179751/2023/01/