वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको फाइनल आज हुँदै-Sutra News

वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको फाइनल आज हुँदै

मंगलबार, १९ बैशाख २०८०

मंगलबार, १९ बैशाख २०८०

काठमाडौँ- एसीसी प्रिमियर कपमा सोमबार वर्षाका कारण रद्द भएको नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल आज पुनः सुचारु हुँदै छ ।



सोमबार टस हारेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । निरन्तर वर्षाका कारण खेल अघि बढ्न नसकेपछि मंगलबार ‘रिजर्भ डे’का लागि सरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हिजोकै अवस्थाबाट सुरु हुने खेल बिहान ९ बजेदेखि हुनेछ । २७.३ ओभरसम्मको खेल सकिँदासम्म यूएईका आसिफ खानले ४६ रन बनाएका थिए । आर्यन लक्राले १३, कप्तान मुहम्मद वसिमले ११ र बसिल हमिले १० रन बनाएका थिए । यसबाहेक यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

यूएईविरुद्ध कसिलो बलिङ गरेको नेपालका ललितनारायण राजवंशीले तीन विकेट लिएका थिए । करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिएका थिए । यस्तै, सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।

सोमबार वर्षाले निकै प्रभावित बनेको खेल दुई पटक रोकिएको थियो । त्रिवि क्रिकेट मैदानमा यूएईले १६ ओभरमा पाँच विकेट गुमाएर ६० रन जोड्दा वर्षा भएपछि पहिलोपटक खेल रोकिएको थियो । त्यसबेला खेल वर्षाका कारण आधा घण्टा रोकिएको थियो । यस्तै, २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा पुनः वर्षा भएपछि खेल दोस्रोपटक रोकिएको थियो ।

प्रिमियर कपको उपाधि जित्ने टिमले एसिया कपमा भारत र पाकिस्तानसँगै समूह ‘ए’मा स्थान पक्का गर्नेछ । नेपाल अहिलेसम्म एसिया कपमा छनोट हुन सकेको छैन ।

प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा कुवेतलाई समूह चरणकै नतिजाका आधारमा पछि पारेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । यता समूह ‘बी’को विजेताको रूपमा सेमिफाइनल आएको यूएईले त्यहाँ ओमानलाई डकवर्थ लुईस पद्धतिअनुसार दुई रनले हराउँदै नेपालसँगको उपाधि भिड्न्त पक्का गरेको थियो।

यसै वर्ष पाकिस्तानमा हुने एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी थिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको थियो ।

प्रिमियर कपको समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार थिए । समूह ‘ए’ बाट नेपाल र ओमान सेमिफाइनलमा प्रवेश गरेका थिए । समूह ‘बी’मा हङकङ, कुवेत, यूएई, सिंगापुर र बहराइन थिए । समूह ‘बी’ बाट यूएई र कुवेत अन्तिम चारमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट