काठमाडौँ- नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दा गर्दै ठगी गर्ने इन्द्रजित राई पक्राउ परेका छन्। राई पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार हुन्।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राई आज बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ परेका हुन्। उनलाई पक्राउ गर्न शहरमा बाक्लो संख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको थियो। काठमाडौँ प्रहरी र ललितपुर प्रहरीले उनलाई पक्राउ गर्नका लागि समन्वय गरेका थिए। यसअघि प्रहरीले यस विषयमा अरू तीन जनालाई पक्राउ गरिसकेको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको पनि संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।