नेपालको भारत र पाकिस्तानसँग एकदिवसीय क्रिकेट खेल्ने चाहाना पूरा भएको छ।
काठमाडौंमा जारी एसीसी प्रिमियर कपको उपाधि जितेसँगै क्रिकेटमा धुरन्धर छिमेकी राष्ट्र भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने नेपालको सपना पूरा भएको हो।
एसीसी प्रिमियर कपको फाइनलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स(युएई)लाई ७ विकेटले पराजित गर्दै एसिया कपमा छनौट भएपछि भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने सपना यथार्थमा परिवर्तन हो।
नेपाल दोस्रो पटक एसिया कपका लागि छनोट भएको हो। नेपाल यसअघि सन् २००२ मा एसिया कपका लागि छनोट भएको थियो।
सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। तर, त्यो समयमा भारत र पाकिस्तानको कार्गिल युद्ध चलिरहेका कारण एसिया कप हुन सकेन।
एसिया कपको समूह ‘ए’मा नेपाल भारत पाकिस्तानको समूहमा परेको छ। समूह ‘बि’मा बांगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन्।
एसिया कपमा नेपाल पुग्नु नै आफूमा एउटा अभुतपूर्व अवसर हो। खेलको नतिजा जे आएपनि क्रिकेटमा नेपालले प्राप्त गरेको यो उपलब्धीले नेपाललाई क्रिकेटको दुनियाँ
एउटा नयाँ आयाम प्रधान गरेको छ।
विश्व क्रिकेटमा दक्षिण एसियाली राष्ट्रको बलियो प्रभूत्व छ। दक्षिण एसियाका भारत, पाकिस्तान, श्रृलंका, बंगलादेश एकदमै बलिया टिम हुन्। उनीहरू विश्वकप क्रिकेटका सदाबहार दाबेदार हुन्। दक्षिण एसियाको अर्को टोली अफगानिस्तानले नेपालभन्दा पछि खेलमा नियमित भएर आफूलाई बलियो प्रमाणित गरिसकेको छ।
नेपालका लागि एसियाकपमा सहभागी हुनु एउटा विशेष उपलब्धि त हो नै क्रिकेटका दिग्गज खेलाडीसँग आमनेसामने हुन पाउनु अर्को उपलब्धि हो। नेपालका सन्दिप लामिछानेले भारतीय क्रिकेट लिग(आईपिएल)मा उपस्थिति जनाएसँगै नेपालको क्रिकेट यात्रा पछिल्लो समय अभुतपूर्व नै छ। एसियाकप छनौटले सन्दिपका अलावा अन्य
नेपाली खेलाडीले पहिलो स्तरको ‘एक्सपोजर’ पाउने मौका मिलेको छ।
बलिङमा राम्रो रहँदै आएको नेपालले भारतीय प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षकत्वमा ब्याटिङमा पनि आफूलाई पछिल्लो समय सुधार गर्दै लगेको छ।
क्यानको अल्छिलाग्दो व्यवस्थापनकाबीच नेपाली क्रिकेट टोलीको यो उपलब्धिले नेपाललाई क्रिकेटमा अनेक सम्बावना खोलेको छ। अब यो अबसरलाई क्यानबाट मात्र नभई सरकारी स्तरबाट विशेष सहयोग हुनु आवश्यक छ। नेपालले जतिधेरै अन्तर्राष्ट्रिय क्रिकेट नियमित खेल्न पाउँछ, त्यति नै आफूलाई तिखार्न पाउँछ।
दक्षिण एसियामा विश्व क्रिकेटका एकसे एक धुरन्धर राष्ट्र हुँदा पनि सोही अनुरूपको ‘एक्सपोजर’ हालसम्म नपाउनु नेपालको विडम्बना हो र यो विडम्बनामा क्यानको कमजोर व्यवस्थापन र सरकारको उदासिनता कारक छ। अनेक विषयमा मित्रराष्ट्रको सहयोग अपेक्षा गर्ने नेपालले हासम्म क्रिकेटको विकासका लागि केही पहल गरेको छैन। अब सरकारले यतातीर ध्यान दिनुपर्छ।
सुरु भएको दशकौंसम्म एउटा पनि अन्तरर्राष्ट्रिय क्रिकेट रंगशाला तयार गर्न नसक्नु सरकारको कमजोरीमात्र होइन चरम लापरवाही हो। नेपाली क्रिकेट टोलीको यो सफलतालाई सरकारले थप घनिभूत व्यवस्थापन गर्नुपर्छ।
सरकारले अब एसियाकपमा नेपालको उपस्थितलाई खेल मैदानमा बलियो देखाउन तुरून्तै प्रोत्सहान र सुविधाहरू उपलब्ध गउराउनुपर्छ। त्यसो भएमा सेप्टेम्बरमा हुने एसियाकपमा नेपालले प्रभावशाली खेल देखाउन सक्छ। यसका लागि महत्वपूर्ण भनेको बलियोटोलीसँगका अभ्यास खेल र त्यही स्तरको प्रसिक्षणको व्यवस्था हो।
निसन्देहः नेपाल क्रिकेटमा भारत र पाकिस्तानभन्दा निक्कै कमजोर छ तर खेल हो बाजी पल्टिनसक्छ। स्टार ब्याटस्म्यानका विकेट झारिसकेका सन्दिपसमेत भएको नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने अपेक्षा अहिलेलाई राख्न सकिन्छ।
तर अहिलेलाई भने भारत र पाकिस्तानसँगको नेपालको सम्भावित प्रदर्शन नेपाली क्रिकेट प्रेमीका लागि कौतुहल्ता र व्यग्र प्रतिक्षा बनेको छ। सो प्रतियोगितामा नेपालले गर्ने प्रदर्शन नेपालका लागि उपलब्धि हुनेछ।