काठमाडौंको सोल्टी होटलमा निक्कै तामझामका साथ अमेरिकाको टेक्सस राज्यमा अवार्ड हुने घोषणा भएको नेपाल प्राविधिक संघको अवार्ड कार्यक्रम अनिश्चित बनेको छ।
घोषणा कार्यक्रममा अवार्ड जेठ १३ गते (२७ मे, २०२३) मा आयोजना हुने जानकारी दिइएको थियो।
अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, युएस खबर र आर्यन फिल्म्स लगायतका संस्थालाई आफूसँग जोडेको थियो।
भिषा समस्यालाई कारण देखाइए पनि अमेरिका आयोजक र नेफ्टाबीच कामको समन्वय राम्रो नभएकाले अवार्ड सर्ने सम्भावना बढेको बताइन्छ। अमेरिकाका आयोजक नेफ्टाको कार्यशैलीसँग असन्तुष्ट भनेको जानकारी श्रोतले सुत्रन्यूजलाई दिएको छ।
‘नेफ्टाले गर्नुपर्ने किसिमको समन्वय गरेको छैन। कार्यक्रमका नेपाल गतिविधिबारेमा जानकारी नदिएको र आफूखुशी चलिरहेकाले अवार्ड समयमा नहुने सम्भावना बढेको छ’, श्रोतले भन्यो।
‘पैसा खर्च भइरहेछ तर के भइरहेछ त्यो थाहा छैन’, श्रोतले थप भन्यो।
अमेरिका आयोजकसँगै अवार्ड सर्नुमा नेफ्टाको कार्यसमिति भित्रको विवाद अर्को प्रमूख कारण देखिएको छ। नेफ्टा सम्बद्ध एक सदस्यले नोमिनेसन सार्वजनिक नगरिकनै भिषा आवेदनका लागि नाम सिफारिस गरेपछि संघभित्र विवाद बढेको छ।
श्रोतका अनुसार अवार्डको नयाँ मितिका लागि सम्भवतः आज छलफल हुनेछ।
अवार्ड पूर्वनिधारित मितिभन्दा दुई महिना पर सर्ने उच्च सम्भावना छ।