सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
अबदेखि पत्रपत्रिकाको कागजमा खानेकुरा प्याक गर्न नपाइने भएको छ। सरकारले यसरी प्याकिङ गर्ने तयारी गरेको जानकारी आज सार्वजनिक भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असरपार्ने रसायनहरु पत्रपत्रिकाका कागजमा हुने भएकाले प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको बताएकी हुन्।
काठमाडौंमा मंगलबारबाट सुरु भएको खाद्य स्वच्छतासम्बन्धि प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
‘अहिले हामीले तुरुन्तै गर्न सक्ने एउटा कुरा चाँही टडकारो रुपमा देखिएको र खड्केको कुरा चाँही जुन न्युज पेपरहरुमा चटपटे, पानीपुरी लगायतको प्याक गरेर खाने जुन चलन छ । त्यसलाई तुरुन्तै हटाउनुपर्ने देखिन्छ’, उनले भनिन्, ‘मालपुवा, सेलरोटीहरु पनि त्यही प्रिन्टेड कागजमा नै पोको पारेर दिने चलन छ । र, हामी त्यसरी समोसाहरु पनि खाइराखेका हुन्छौं । फुड प्वाइजन हुने भएकाले हामीले त्यसलाई नियन्त्रण गर्नका लागि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने देखिन्छ।’