काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गरेका छन्। एमालेसँगको गठबन्धन भत्काएर कांग्रेससँग नजिक भएर सरकार बनाएपछि एमाले माओवादीसँग रुस्ट छ। त्यही भएर पनि ओली जसरी हुन्छ प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्न चाहन्छन्।
अहिलेको गठबन्धन सरकार ढालेर एमालेले एमाले र रास्वपाको आलोपालो सरकारको प्रस्ताव अघि सारेको हो।
सरकारबाट बाहिरिएपछि एमाले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागेको छ। सोही क्रममा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताइएको छ।
एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएपछि रास्वपा अध्यक्ष लामिछाने मंगलबार जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग छलफल गरेका थिए। त्यसो त रास्वपा र जनमत पनि निकै नजिक भएको बताइन्छ। उनीहरूबीच राजनीतिक एजेन्डामा सँगै अघि जाने सहमति भएको छ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत सरकारसँग असन्तुष्ट छ। उपनिर्वाचनमा गठबन्धनले जसपाका उपेन्द्र यादवलाई उम्मेदवार बनाएपछि गठबन्धनमै रहेको जनमतले भने आफ्नै उम्मेदवार उठाएको थियो।
ओलीले एमाले, रास्वपा, जनमतसहितको गठबन्धन बनाउने तयारी गरेका छन्। ओलीले आफ्नो गठबन्धनमा जसपालाई पनि सामेल गराउने तयारी गरेका छन्।
रास्वपाका लामिछाने र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि मंगलबार छलफल भएको थियो। देउवा-प्रचण्ड रास्वपालाई अहिलेकै गठबन्धनमा राख्न चाहिरहेका छन्। तर एमालेले उनीहरूलाई भाँजो हालिरहेको छ।