जहाजको टिकट काटे पनि छोरा पक्राउ परेपछि अर्घाखाँचीमै रोकिएका टोपबहादुर सम्पर्क बिहीन-Sutra News

जहाजको टिकट काटे पनि छोरा पक्राउ परेपछि अर्घाखाँचीमै रोकिएका टोपबहादुर सम्पर्क बिहीन

बिहिबार, २१ बैशाख २०८०

बिहिबार, २१ बैशाख २०८०
फाइल तस्बिर

काठमाडौँ- नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई ठगेको घटनामा नाम मुछिएपछि अहिले नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउपुर्जी जारी भइसकेको छ। उनका छोरा सन्दीपलाई त प्रहरीले बुटवलबाट पक्राउ गरेर काठमाडौँमा ल्याएर अदालतमा पेस गर्दैछ।



हिजो अर्घाखाँचीमा विभिन्न कार्यक्रममा सहभागी भएका रायमाझी काठमाडौँ आउने तयारीमा भए पनि अन्तिम समयमा उतै रोकिएका छन्। उनी छोरा सन्दीप पक्राउ परेपछि रोकिएका हुन्। बुधबार नै भैरहवा विमानस्थलबाट काठमाडौं आउन ठीक्क परेका सांसद रायमाझी छोरा सन्दीप समातिएपछि रोकिए। उनले टिकट काटेर पनि अन्तिम समयमा रद्ध गरेको पाइएको छ।

अहिले उनी सम्पर्कमा छैनन्। उनको मोबाइल पनि अफ छ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्ने गिरोहसँग बाबुछोराको नाम पनि जोडिएको छ। टोपबहादुर-सन्दीपको नाम मुछिएपछि बुधबार उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएका थियो।

सांसद टोपबहादुर भने गृहजिल्ला अर्घाखाँचीमै छन्। बुधबार भैरहवा हुँदै काठमाडौं आउने तयारी गरेका उनले सन्धिखर्कमा पत्रकार सम्मेलन गरी आरोप अस्वीकार गरेका थिए।

उनले ५ करोडभन्दा धेरै ठगी प्रकरणमा जोडिएका दुईजना व्यक्तिसँग घुम्न गएकोबाहेक अरु कुनै साइँनो नरहेको दाबी गरे। ‘मैले दुईजना मान्छेलाई चिन्थेँ। घुम्न जाने नाममा गएका हौँ। ती चिनेका मान्छेहरुसँग घुम्न जाँदा फोटो खिचेको हो’, उनले भने, ‘त्यसबेला मेरो छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटेको रहेछ। त्यसपछि मेरो छोराको नाममा डेढ करोडको चेक काटेको कुरा आएको थियो। चेक खारेज हुन्छ भन्ने पनि थाहा थिएन।’

उनले चेक अहिलेसम्म नसाँटेको पनि बताएका थिए। हालसम्म नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन्। ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पक्राउ परेको एक महिनापछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।

उनीमाथि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ। बुधबार नै प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो।

यही प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजको नाम पनि जोडिएको छ। उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने उनीहरू हाल फरार छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठ योसँगै अन्य सबै प्रकरणमा मुछिएका अपराधीलाई नछोड्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट