काठमाडौँ- बुधबार पक्राउ परेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा बुधबार पक्राउ परेका सन्दीपलाई भैरहवा विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएको हो।
उनलाई बिहान ७ बजे नै विमानस्थल पुर्याइएकोमा प्रतिकूल मौसमका कारण उडान केही डिले भएको थियो।
सोही प्रकरणमा मुछिएका टोपबहादुर सम्पर्कविहीन छन्। अहिलेसम्म उनी पक्राउ नपरेको र खोजी भइरहेको प्रहरीले जनाएको छ। यसअघि बुधबार अर्घाखाँचीमा भएको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै रहेका टोपबहादुरले बुधबार नै काठमाडौँ आउन जहाजको टिकट पनि काटेका थिए। तर छोरा पक्राउ परेपछि उनले टिकट रद्ध गरेका थिए।
तर काठमाडौं झरेलगत्तै प्रहरीले पक्राउ गर्ने तयारीबारे सूचना पाएपछि उनी सम्पर्कविहीन भएका हुन्। पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ। उनीहरु हाल फरार छन्।
यसअघि मंगलबार एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहका इन्द्रजित राई पक्राउ परेका थिए। यो घटनामा सुरुमा केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर राई र शन्देश शर्मा पक्राउ परेका थिए। उनीहरुलाई पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।